वर्षमान पुनसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

पुनमाथि चुनाव प्रचारप्रसार गर्न विद्यालय हाताभित्र बाजागाजा बजाएर नाचगान समेत गरेको आरोप लागेको छ।

फाल्गुन २, २०८२

काशीराम डाँगी

What you should know

काठमाडौँ — प्रचारप्रसार गर्न घरदैलो अभियान संचालनका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ।

रोल्पास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार पुनमाथि विद्यालय परिसरमा चुनावी कार्यक्रम संचालन गरेको आरोप लागेको हो। चुनाव प्रचारप्रसार गर्न विद्यालय हाताभित्र बाजागाजा बजाएर नाचगान समेत गरेको पुनमाथि आरोप लागेको छ।

कार्यालयका अनुसार निर्वाचन आयोगले उजुरी परेको उल्लेख गर्दै पुनसँग स्पष्टीकरण मागिएको जनाएको हो।

रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत घनश्याम गौतमले आयोगले उम्मेदवार पुनसँग सोधेको स्पष्टीकरण बारेमा जिल्लामा जानकारी आइपुगेको बताए ।

आयोगले पुनसँग 'तपाईंले विद्यालय परिसरमा नाचगान तथा अन्य प्रचारप्रसार कार्यक्रम गर्नुभएको कार्यले आचारसंहिताको उल्लंघन हुन्छ वा हुँदैन ? यदि, तपाईंले आचारसंहिताको उल्लंघन गर्नु भएको प्रमाणित भएमा तपाईंलाई आचारसंहिता र प्रचलित निर्वाचन कानुनबमोजिम किन कारबाही गर्नु नपर्ने हो ?' भन्ने व्यहोराको पत्र बुझाएको हो।

उक्त व्यहोराको पत्र जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन कार्यालयमा पनि प्राप्त भएको गौतमले बताए । त्यसबारे कारवाही अघि बढाइएको उनले बताए ।

पूर्वमन्त्री समेत रहेका पुन घरदैलो अभियानका क्रममा रोल्पाको परिवर्तन गाउँपालिकामा पुग्दा विद्यालय परिसरमा कार्यक्रम आयोजना गरेको, उनीसँग पुगेका नेताले सरकारी गाडीको प्रयोग गरेको लगायत गुनासो गर्दै स्थानीय एवं विपक्षी कार्यकर्ताले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए। पुन त्यहाँ एक साताअघि पुगेका थिए।

यसैबीच जिल्लास्थित मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले सबै दलका नेता र उम्मेदवारलाई बोलाएर आचारसंहिता बारे अन्तरक्रिया गरिएको र उल्लंघन हुनबाट सचेत गराइएको बताए । उनले कुनै पनि स्थानमा कसैले पनि आचारसंहिता उल्लंघन गरेमा तत्काल उजुरी गर्न आग्रह पनि गरे।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले निर्वाचनको सुरक्षा व्यवस्थापन गम्भीरतापूर्वक गरिएको बताए । उनका अनुसार निर्वाचन सुरक्षाको लागि नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीलाई खटाउने योजना बनेको बताए ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully