पश्चिम नवलपरासीमा कांग्रेस क्षेत्रीय सचिव र नगर सभापतिद्वारा पार्टी परित्याग

प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सचिव बालिन्द्र बिक्रम शाही र पश्चिम नवलपरासी-१ स्थित बर्दघाट नगरपालिकाका कांग्रेस सभापति दामोदर जिसीले पार्टी छाडेका हुन् ।

फाल्गुन २, २०८२

नारायण शर्मा

नवलपरासी — पश्चिम नवलपरासीमा कांग्रेस क्षेत्रीय सचिव र नगर सभापतिले पार्टी परित्याग गरेका छन् । 

प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सचिव बालिन्द्र बिक्रम शाही र पश्चिम नवलपरासी-१ स्थित बर्दघाट नगरपालिकाका कांग्रेस सभापति दामोदर जिसीले पार्टी छाडेका हुन् । दुवैले शनिबार छुट्टाछुट्टै विज्ञप्तिमार्फत कांग्रेस पार्टीको हालसम्मको जिम्मेवारीमा नरहने घोषणा गरेका छन् ।

'हामीले २० औं वर्षदेखि नेपाली कांग्रेसको राजनीति गरेर पार्टीमा आआफ्नो हैसियत बनाएर निर्वाचित भएका थियौं तर स्थानीयको माग र मतदाताको चाहनाविपरीत विनोद चौधरीलाई टिकट दिएर कार्यकर्ताको भावनाविपरित काम गरेकाले पार्टीमा रहन सकिएन,' जीसीले भने, 'यहाँबाट अघिल्लो पटक निर्वाचिन विनोद चौधरीबाट कुनै काम हुन नसकेका कारण जनताको मागबमोजिम राजीनामा दिएका हौं ।'

स्थानीय क्षेत्र नम्बर १ का कांग्रेसका शुभेच्छुक मतदाता विनोद चौधरीविरुद्ध उभिएका कारण उनीहरुको मागबमोजिम आफूले पार्टी छोडेको शाहीले जानकारी दिए ।

कांग्रेस केन्द्रीय सदस्य चौधरी दोस्रो पटक प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेपछि यहाँ कांग्रेस छोड्नेक्रम बढ्दो छ । यसअघि कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल पार्टी छाडेर रास्वपाबाट उम्मेदवार बनेका थिए ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully