बाँकेमा भेटिएको शंकास्पद कुकर सेनाद्वारा निष्क्रिय

नजिकिएको चुनावी वातावरणलाई आतंकित पार्न कुकर राखिएको हुन सक्ने प्रहरीको भनाइ ।

फाल्गुन १, २०८२

रूपा गहतराज

नेपालगन्ज — गुलरिया सडकमा शंकास्पद प्रेसर कुकर फेला परेको छ । खजुराको पेडारी नाला नजिक शुक्रबार बिहान उक्त कुकर फेला परेको हो ।

बीच सडकमा कुकरलाई कालो टेपले बेरेको अवस्थामा फेला परेको थियो । नेपाली सेना पुगेर उक्त कुकरलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीले जानकारी दिए । उनले भने, 'नजिकिएको चुनावी वातावरणलाई आतंकित पार्न कुकर राखिएको हुन सक्छ ।'

नेपाली सेनाले घटनास्थललाई नियन्त्रणमा लिएर सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद कुकरलाई पड्काएर निष्क्रिय बनाएको हो । प्रहरीका अनुसार घटनास्थलबाट कुनै पर्चा वा जिम्मेवारी लिएको सामग्री फेला परेको छैन ।

सडकमा आवतजावत अहिले खुला गरिएको छ । कुकर राखिएको ठाउँ नजिक पेडारी नालामा पुल बनिरहेको छ । कुकर कसले राख्यो खुल्न सकेको छैन ।

रूपा गहतराज

Link copied successfully