रुपन्देही–३ का उम्मेदवार भ्रष्टाचार बिरुद्ध एकजुट 

सिद्धार्थ सन्जाल रुपन्देहीले आयोजना गरेको छलफलमा सहभागी भएका दल र स्वतन्त्र उम्मेदवारले वर्तमान युवा पुस्ताको चाहना अनुसार भ्रष्ट्राचार अन्त्य गरेर मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध रहेको बताए ।

फाल्गुन १, २०८२

कान्तिपुर संवाददाता

What you should know

भैरहवा — रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु भ्रष्ट्राचार निवारण गरेर मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न एकजुट देखिएका छन् । शुक्रबार एउटै मञ्चमा भेला भएका उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । 

सिद्धार्थ सन्जाल रुपन्देहीले आयोजना गरेको छलफलमा सहभागी भएका दल र स्वतन्त्र उम्मेदवारले वर्तमान युवा पुस्ताको चाहना अनुसार भ्रष्ट्राचार अन्त्य गरेर मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको एजेण्डा अघि सारेको बताए । 

‘नागरिकले सुशासनको अभाव भोगिरहेका छन् । जहाँ गयो, त्यहीँ भ्रष्ट्राचार व्याप्त रहेको दुखेसो छ,’ उनले भने, ‘भ्रष्ट्राचार अन्त्य र सुशासन कायम नभएसम्म मुलुक समृद्ध हुँदैंन् ।’

नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले समाजको रुपान्तरणका लागि भ्रष्ट्राचार निवारणलाई पहिलो प्राथमिकतामा राखेको बताए । सुशासन, पारदर्शिता र जवाफदेहिता  आवश्यक रहेको उनले बताए । बिगतमा निर्वाचित जनप्रतिनिधि र राजनीतिक दलका नेतामा जवाफदेहिताको कमीले जनतामा नेताप्रति वितृष्णा पैदा गरेको गुरुङको भनाई थियो ।  

एमाले उम्मेदवार बासुदेव घिमिरेले सन्तुलित विकास, सुशासन र भ्रष्ट्राचार निवारण आफ्नो प्रमुख चुनावी मुद्धा रहेको बताए । ‘जनमैत्री कानुन निर्माण गर्ने बिषयपनि प्राथमिकतामा छ’ उनले भने, ‘कानुन निर्माण गर्दा सरोकारवालासंग राय सुझाव लिन अपरिहार्य छ ।’

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार फैज अहमद खानले अधिकांश सरकारी कार्यालय तथा स्थानीय तहमा सुशासन अभावले सेवाग्राहीमा नैराश्यता पैदा भएको बताए । राष्ट्रिय जनमोर्चाका उम्मेदवार बद्रे आलम मुसलमान, राष्ट्रिय जनमुक्तिका मोजिव अलि मुसलमान, उज्याले नेपालका सरोजसिंह चौधरी, आम जनता पार्टीका राधेश्याम तेली गुप्ता, स्वतन्त्र उम्मेदवार जीतबहादुर गुप्ता, गोपाल भण्डारीले पनि भ्रष्ट्राचार निवारणलाई आफूले मुख्य चुनावी एजेण्डा बनाएको बताएका थिए । 

कान्तिपुर

Link copied successfully