दाउन्नेमा थप १८ सय मिटर सडक ढलान हुने

बुटवल-नारायणगढ सडक खण्डको १ सय १४ किलोमिटर सडकमध्ये दाउन्नेबाहेको क्षेत्रमा धेरै काम सकिएको छ । यद्यपि, यहाँ भइरहेको ढिलाइले यात्रु मारमा पर्दै आएका छन् ।

फाल्गुन १, २०८२

नारायण शर्मा

नवलपरासी — निर्माणाधीन बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत दाउन्नेको विश्वकर्मा मन्दिर नजिक थप १८ सय मिटर सडक ढलान हुने भएको छ ।

शुक्रबार दाउन्ने क्षेत्रको सडक अनुगमनमा आएका यातायातमन्त्री माधव चौलागाईसहितको प्राविधिक टोलीले यहाँ भैरहेको कामका बारेमा चिनियाँ ठेकेदार पक्षसँग कुराकानी गरेको थियो । दाउन्ने सडकको पूर्वी खण्डमा ४ किलोमिटर सडक खण्ड पर्छ । त्यसमध्ये शुक्रबारसम्म २२ सय मिटर सडक ढलान भैसकेको छ ।

दाउन्ने आएका मन्त्री, सचिव, केशवकुमार शर्मा, महानिर्देशक डा. बिजय जैसी, आयोजना निर्देशक चुडाराज ढकालसहितको टोलीले त्यहाँ भैरहेको कामको जानकारी लिएको थियो । दाउन्नेमा भैरहेको कामको जानकारी लियौं र थप १८ सय मिटर क्षेत्रमा सडक ढलानको काम अघि बढ्छ,' सडक विभागका महानिर्देशक डा. जैसीले भने, 'दाउन्नेमा एकतर्फी सडक निर्माणको काम आउँदो जेठसम्म सकिन्छ ।'

दाउन्ने क्षेत्रको १४ किलोमिटर सडक खण्डमध्ये ६ किलोमिटर सडक निर्माण सम्पन्न भैसकेको छ । अन्य क्षेत्रमा एकातर्फी सडक सञ्चालनमा ल्याउनेगरी धमाधम काम भैरहेको छ । दाउननेमा पानी बग्ने स्थानमा ढलान र अन्यत्र कालोपत्रे निर्माण भैरहेको छ ।  

बुटवल-नारायणगढ सडक खण्डको १ सय १४ किलोमिटर सडकमध्ये दाउन्ने बाहेको क्षेत्रमा धेरै काम सकिएको छ । यद्यपि, यहाँ भइरहेको ढिलाइले यात्रु मारमा पर्दै आएका छन् ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully