६ वटा सत्रमा सञ्चालन भएको उत्सवमा विद्यार्थीहरूले संरक्षण सम्बन्धी गीत, कविता र चित्रकला प्रस्तुत गरेका थिए ।
परासी — लोपोन्मुख जलचर र वातावरण संरक्षणमा जनचेतना जगाउने उद्देश्यले पूर्वी नवलपरासीमा घडियाल काव्य उत्सव सम्पन्न भएको छ ।
संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणका लागि जनचेतना जगाउन आभानी मिडियाले विगत ५ वर्षदेखि सरोकारवालाबीच छलफल र संरक्षणमा जोड दिँदै आएको छ ।
माघ २८ र २९ गते दुई दिनसम्म देवचुली नगरपालिकाको नारायणी नदी किनारमा सञ्चालन भएको काव्य उत्सवमा संरक्षणको लागि सरोकारवालाले नीतिगत सुधार गरेर कार्यान्वयन गर्नुपर्नेमा सहभागिताले जोड दिएको आयोजक संस्थाका दिपेश कडरियाले बताए ।
दुई दिने उत्सवमा ‘जीव, जीवन र जगत’, ‘संरक्षणको भविष्य, बाल मस्तिष्क, वृहत मानसिकता’, ‘घडियालको सन्निकट, पानी र पर्यायको ज्ञान’, ‘हामीले जे देख्यौं, अन्तर मनको वार्ता’, ‘पर्या बाल काव्य सरिता,' र ‘बाँसुरी र दादरी’ विषयमा छलफल भएको थियो ।
६ वटा सत्रमा सञ्चालन भएको उत्सवमा विद्यार्थीहरूले संरक्षण सम्बन्धी गीत, कविता र चित्रकला प्रस्तुत गरेका थिए । पाँच संस्करणमा जिल्ला स्थित सरोकारवाला र विद्यार्थीलाई संरक्षण सचेतनाको विषयमा जोड दिइएको थियो ।
