दुर्घटनामा संलग्न टिपर र चालकलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए ।
दाङ — अटो रिक्सा र टिपर आपसमा ठोक्किँदा अटोचालकको मृत्युपछि मृतकका आफन्तले दोषीमाथि कारबाही र क्षतिपूर्ति माग गर्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको कालाकाटेमा सडक अवरुद्ध पारेका छन् ।
मृतकका आफन्तहरूले सडकमै आगो बालेर यातायात सञ्चालनमा रोक लगाएका हुन् । जसका कारण राजमार्गमा सयौं गाडी अलपत्र परेका छन् ।
भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना८ख ३२६४ नम्बरको टिपर र कालाकाटेबाट भालुवाङतर्फ जाँदै गरेको रा१ह ७३५५ नम्बरको अटोरिक्सा बिहीबार बिहान गढवा गाउँपालिका-१ कालाकाटेमा ठोक्किँदा अटोचालक ३६ वर्षीय जोरकुमार पुनको मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका पुनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । अटोमा विद्यालय जान लागेको ५ जना विद्यार्थी रहेको र उनीहरू पनि घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न टिपर र चालकलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए । सडक खुलाउने प्रयास भैरहेको उनकाे भनाइ छ ।
