कार्यसम्पादनमा गुल्मीकाे मालिका र धुर्कोट गाउँपालिका देशभरका उत्कृष्ट चारभित्र 

देशभरका ७५३ स्थानीय तहमध्ये अर्घाखाँचीको पाणिनी गाउँपालिका पहिलो भएको छ ।

माघ २९, २०८२

गगनशिला खड्का

What you should know

गुल्मी — स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा गुल्मीका मालिका र धुर्कोट गाउँपालिका उत्कृष्ट चारभित्र परेका छन् ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा मालिका गाउँपालिका देशभरका स्थानीय सरकारमध्ये तेस्रो धुर्कोट गाउँपालिका चौथो बनेका छन् । आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार मालिकाले ८१.९८ प्रतिशत र धुर्कोटले ८०.५२ प्रतिशत अंक ल्याएका छन् । 

मालिका वित्त आयोगको मूल्यांकनमा तीन वर्षदेखि लगातार उत्कृष्ट मध्येमा पर्दै आएको आएको छ । २०७९/८० को मूल्यांकनमा मालिका गाउँपालिकातर्फ देशमै पहिलो बनेको थियो । यस्तै, आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा धुर्कोट ७६.७ अंक प्राप्त गरी लुम्बिनीका ७३ गाउँपालिकातर्फ पहिलो बनेको थियो । 

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा १०० पूर्णांक राखेर मूल्यांकन गर्ने गर्छ । जसमा १० असारभित्र बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम पुस मसान्तभित्र प्रदेश सन्चित कोषमा जम्मा गरे नगरेको, आयव्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेटको वर्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको उल्लेख छ ।

स्थानीय तहले अधिकार क्षेत्रभित्रको राजस्व परिचालन गरेको, गत आर्थिक वर्षको विनियोजित रकमअनुसार खर्चको अवस्था, कुल लेखापरीक्षणबाट औल्याएको बेरुजुको अवस्था, सूत्रको प्रयोग गरे/नगरेको, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्नादर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउदर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सोभन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, चारपटक गर्भ जाँच गर्ने महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्णखोप पाएका बालबालिकाको अनुपात र आयोगको पोर्टलमा कार्य सम्पादन सूचकसम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि गरे नगरेको आधारमा मूल्यांकन गर्ने गरेको छ । 

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्छ । 

७५३ स्थानीय तहमा पाणिनी पहिलो

देशभरका ७५३ स्थानीय तहमध्ये अर्घाखाँचीको पाणिनी गाउँपालिका पहिलो भएको छ । पाणिनीले ८३.८४ अंक प्राप्त गरेको वित्त आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ । त्यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ८२.१५ अंकसहित दोस्रो स्थानमा छ । 

मूल्यांकनमा देशशभरका चार स्थानीय तहले मात्रै ८० प्रतिशतभन्दा बढी अंक ल्याएका छन् ।

गगनशिला खड्का खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully