दाङमा सिकलसेलका बिरामीको बृहत परीक्षण सुरु, एक वर्षमा ५ हजारको परीक्षण गर्ने तयारी

प्रतिष्ठानमा सिकलसेल परीक्षणका लागि अत्याधुनिक मेसिन जडान भएसँगै दाङभरी अभियान थालिएको प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्सालले बताए ।

माघ २९, २०८२

दुर्गालाल केसी

दाङ — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले पश्चिम नेपालको थारु समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको ‘सिकलसेल एनिमिया’को बृहत् परीक्षण सुरु गरेको छ ।

प्रतिष्ठानमा निशुल्क परीक्षण यसअघि नै सुरु गरिसकिएकोमा यसपटक पालिकास्तरमा पनि परीक्षण सन्चालन गरिएको छ ।

प्रतिष्ठानले पहिलो चरणमा ५ हजार जनाको निःशुल्क परीक्षण गर्ने तयारी अनुसार बुधबार राप्ती आधारभूत अस्पताल सिसहनियामा परीक्षण सुरु गरिएको हो । परीक्षणमा ५ सय बढीको जाँच गरिएको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थीले जानकारी दिए । शिविरमा २ सय ३५ पुरुष र ३ सय २८ महिला गरी ५ सय ६३ जना लाभान्वित भएको उनले बताए ।

उनका अनुसार यसअघि अस्पतालमा मात्रै ३ सय २० जनाले जाँच गराएका थिए ।  शिविरमा डिन, डाईरेक्टर, २ जना फिजिसियन चिकित्सक, ४ जना नर्स, ६ ल्याब टेक्निसियन, ४ बिएनएस विद्यार्थी, १ नर्सिङ लेक्चरर र १  सेक्सन अफिसरको सहभागिता थियो ।

प्रतिष्ठानमा सिकलसेल परीक्षणका लागि अत्याधुनिक मेसिन जडान भएसँगै दाङभरी अभियान थालिएको प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्सालले बताए ।

यो आर्थिक वर्षमा ५ हजार र आगामी आर्थिक वर्ष २०८३/ ०८४ मा १० हजारको परीक्षण गर्ने लक्ष्य रहेको उनले बताए । दाङ जिल्लाका सबै जोखिममा रहेका सर्वसाधारणको परीक्षणका साथै अनुसन्धान पनि गरिने लम्सालले बताए ।

यसबाट सिकलसेल सम्बन्धी नयाँ तथ्यहरू पहिचान हुने र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा नीती निर्माण र जोखिम न्यूनीकरण एवं उपचार पद्दति निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको उनले बताए ।

उनका अनुसार यो रोग मुख्यतया अफ्रिका, आमेरिकन् महादेश, युरोप, मध्यपूर्व एसिया, भारत र नेपालको थारू समुदायमा पाईन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा प्रातिष्ठानले कार्यक्रम सन्चालन गरिरहेको र यसलाई बृहत बनाउँदै लैजाने योजना रहेको प्रतिष्ठानका निमित्त डिन प्राडा रमेश कँडेलले जानकारी दिए । प्रतिष्ठानले ३ वर्षमा ३५ हजार  र ५ वर्षमा कम्तीमा ७० हजार व्यक्तिको परीक्षण गरी अनुसन्धान गर्ने लक्ष्य राखेको उनले बताए ।

हाल प्रतिष्ठानमा ३ सय १५ जना सिकलसेलका बिरामीले नियमित औषधि उपचार सेवा लिइरहेका छन्। एक वर्षका शिशुदेखि ६५ वर्षका वृद्धसम्ममा यो रोग देखिएको छ भने एउटै परिवारका चार जनासम्म संक्रमित भेटिएका छन्। यो रोग विशेषगरी थारु समुदायमा बढी देखिए पनि पछिल्लो समय योगी र दलित समुदायमा समेत संक्रमण पुष्टि भएको छ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully