भदौ २४ गते पोखराबाट भागेका धादिङका युवा गुल्मीमा पक्राउ

लागूऔषध मुद्दाका धादिङका युवा गुल्मीको रुरुक्षेत्र गाउँपालिका-२ रुद्रवेणीबाट पक्राउ परेका हुन् ।

माघ २८, २०८२

सन्तोष महतारा

गुल्मी — गत भदौ २४ गतेको प्रदर्शनका क्रममा पोखराबाट भागेका लागूऔषध मुद्दाका धादिङका युवा गुल्मीमा पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका-२ रुद्रवेणीमा लुकेर बसेको क्रममा फरार प्रतिवादी पक्राउ परेका हुन् ।

धादिङको गजुरी गाउँपालिका-८ का २५ वर्षीय डिलबहादुर डिमडुङ लागूऔषध (गाँजा) मुद्दामा कैद भुक्तान गरिरहेका थिए । 

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट पक्राउ परी कास्की जिल्ला अदालतमार्फत कास्की जिल्ला कारागार थुनामा रहेकोमा जेन-जी आन्दोलनका क्रममा भागेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

लुकेर बसेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सम्बन्धित कारागारमा पठाउने तयारी भइरहेको छ ।

सन्तोष

Link copied successfully