गाउँपालिका उपाध्यक्षले वन क्षेत्रभित्र बनाएको व्यवसायिक भवन स्थानीयले भत्काए

नियम–कानुन बनाउने जिम्मेवारीमा रहेको गाउँपालिका उपाध्यक्षले नै कानुन विपरीत काम गरेको भन्दै स्थानियले आक्रोश व्यक्त गरिरहेका छन् ।

माघ २७, २०८२

महेश केसी

Locals demolish commercial building built by rural municipality vice-chairman inside forest area

What you should know

रुकुम पूर्व — वनको बीचमा बनेको एउटा घर धेरै मान्छेले भत्काएको एउटा भिडियो सोमबार सामाजिक सञ्जालमा व्यापक भयो । यो घटना थियो रुकुम पूर्वको भुमे गाउँपालिका वडा नं. १ रानीबास कोइपाको ।

त्यसदिन खास के भएको थियो त ? यस विषयमा भुमे–१ का वडाध्यक्ष मनकाजी पुन मगरले आफ्नो कुरा स्पस्ट राख्न चाहेनन् । तर उनले आफ्नो वडामा ‘लुगुम्याल समाज’ रहेको र यसैले नै गाउँका यसप्रकारका अवसर र समस्याहरुबारे व्यवहारिक रुपमा समाधान गर्ने बताए ।

यसपछि हामीले यस विषयमा लुगुम्याल समाजका अध्यक्ष धनकुमार पुनसँग कुरा गर्दा उनले उपाध्यक्षले अटेरी गरेर मापदण्ड विपरित सामुदायिक वन क्षेत्रभित्र घर बनाएको बताए । ‘हामीले हाम्रो वडाभित्र पर्ने वन क्षेत्रमा कोही–कसैले व्यवासायिक उदेश्यले संरचना बनाएमा आवश्यक अनुमति लिनुपर्ने र स्थानीयले मासिक ३ हजार र अन्यले मासिक ६ हजार शुल्क तिर्ने सल्लाह गरेका थियौं । तर यस बिचमा कोही–कसैले कुनै पनि अनुमती लिएको छैन । र उपाध्यक्ष ज्युले पनि अनुमति बिना नै वनको बीचमा होटेल बनाउनका लागि एक तलाको घर बनाउनु भयो,’ उनले भने, ‘हामीले यो काम नगर्न पटक–पटक सचेत गराएका पनि थियौं । र वडा कार्यालय देखि स्थानीय प्रहरी चौकीमा पनि जानकारी गराएका थियौं । समस्या समाधान गर्न नसकिएकै हो । उपाध्यक्षले छलफलमा नियमानुसार जान नमानेपछि हिजो आक्रोशित स्थानीयले घर भत्काइदिए ।’

 सोमबारको घटनामा आफू र आफ्नो संस्थाको संस्थागत निर्णय नभएको भन्दै पुनले यस दिन आफू संलग्न नभएको तर स्थानीयले आक्रोशित भएर घर भत्काएको बताए । साथै उनले वडाभित्र कसैले पनि कुनै संरचना बनाउँदा टिनको छानो भएको बनाउन नपाइने तर उपाध्यक्षले त्यो समेत ख्याल नगरेको बताए ।

गाउँपालिका उपाध्यक्ष सविना बुढा मगरले व्यवसायिक प्रयोजनका लागि घर बनाएको स्विकार्दै चौरी बुकी (चयरी बुकी) घुम्न अउने पर्यटकलाई सहज होस भनेर चिया–नास्ता खाने ठाउँका रुपमा विगत एक महिनादेखि निर्माण गरिरहेको भनव भत्काइदिएको दुःखेसो गरिन् । 

‘सामुदायिक वन क्षेत्रमा बनाएको भनेर लुगुम्याल समाजका तर्फबाट मलाई २५ हजार जरिवाना र वार्षिक ७५ हजार भाडा तिर्ने भनेर भनियो । मैले यो त महँगो भयो भने । त्यसपछि केही समय मागेको थिएँ । तर एक्कासी केही मान्छेहरुले उक्त संरचना भत्काइदए,’ उपाध्यक्ष पुन भन्छिन्, ‘मैले व्यवसायिक उदेश्यका लागि यो भवन बनाएको सत्य हो । तर स्थानीयले आपत्ति जनाएपछि म मेरा स्वर्गिय बा–आमाको नाममा धर्मशालाका रुपमा छोड्छु भनेर पनि भनेको थिएँ । त्यसो पनि गर्न पाइएन ।’

 नियम–कानुन बनाउने जिम्मेवारीमा रहेको गाउँपालिका उपाध्यक्षले नै कानुन विपरीत काम गरेको भन्दै स्थानियले आक्रोश व्यक्त गरिरहेका छन् । सोमबारको घटनाबारे जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवले यस विषयमा विवाद भएको कुरा थाहा भए पनि एक्कासी घर भत्काएको थाहा भयो । ‘यस ‘विषयमा विवाद भएको कुरा थाहा भएर प्रजिअले छलफलका लागि डाक्नुभएको थियो । दिउँसो एक्कासी यो घटना भएपछि हामीले आवश्यक सुरक्षा प्रबन्ध मिलाएर अब थप केही असहजता हुन नदिन सचेत भएका छौं।’ उनले भने ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully