कपिलवस्तु–३ भदुई र मानपुरका बासिन्दा भन्छन्–‘कटानबाट गाउँ जोगाउनेलाई भोट’

वर्षायाममा अर्रा नदीले बस्ती कटान गरेर बगाउने चिन्ता हुन्छ । यहाँका बासिन्दा फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारसित कटानबाट बस्ती जोगाउने योजनाबारे प्रश्न सोध्न आतुर छन्।

माघ २६, २०८२

मनोज पौडेल

Residents of Kapilvastu-3 Bhadui and Manpur say – ‘Vote for those who save the village from Katan’

What you should know

कपिलवस्तु — गाउँको किनार हुँदै अर्रा नदी बग्छ । जसलाई स्थानीयले चरङहवा नदी पनि भन्छन्, त्यही नदी अहिले गाउँ पस्न मुस्किलले ५० मिटर बाँकी छ । गाउँका कच्ची घरसँगै नेपाल–भारत सीमा सटेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३ स्थित भदुई गाउँ अहिले कृष्णनगर नगरपालिका–१२ मा रहेको छ ।

वर्षायाममा अर्राले बस्ती कटान गरेर बगाउने चिन्ता हुन्छ । स्थानीयले बस्ती जोगाउन माग गर्न थालेको वर्षौं भइसक्यो । स्थानीय तहदेखि संघीय जनप्रनिधि समक्ष हारगुहार गरे पनि सुनुवाई भएको छैन । यहाँका बासिन्दाले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारसित कटानबाट बस्ती जोगाउने योजना के छ ? भनेर प्रश्न सोध्न आतुर रहेको बताए । तर, अहिलेसम्म उम्मेदवार बस्तीमा पुगेका छैनन् । 

नयाँ उम्मेदवार गाउँ आउनासाथ बस्ती जोगाउन नदी नियन्त्रणका लागि प्रतिबद्धता गराउने तयारीमा स्थानीय छन् । यसअघि जितेर गएका उम्मेदवार भोट माग्न आएमा अहिलेसम्म के गर्‍यौ भनेर झाँको झार्ने स्थानीय रामदेव कुर्मीले बताए । ८० वर्ष अवधिमा भदुई गाउँका बासिन्दाले बाढीबाट जोगिन तीनपटक ठाउँसारी गरिसके । ‘अब सर्ने ठाउँसम्म छैन्, अगाडि नदी पर्छ,’ उनले भने, ‘घरको बलेनीबाट दसगजामै पानी खस्छ ।’ 

अहिलेसम्म १५ बिघा खेत कटान भइसकेको उनले बताए । उनका अनुसार अब ५/६ बिघा खेत मात्र बाँकी छ । उनको परिवारमा ७ सदस्य छन् । कटान नरोकिएकाले कतिखेर बचेको खेत र घर बग्छ भन्ने ठेगान नरहेको उनले बताए । ‘कपिलवस्तु–३ बाट ०४८ सालयता ४ जनालाई जिताएर पठायौं,’ उनले भने, ‘कसैले बस्ती जोगाउन कोशिष गरेनन् ।’ 

१७ घर रहेको भदुइसँगै ३५ घर रहेको मानपुरको पनि उस्तै समस्या छ । कालो बादल मडारिनासाथ मानपुरका गाउँले सतर्क हुन्छन् । भगवानको नाम जप्दै बस्ने गरेको स्थानीय सुनाउँछन् । भदुइ जस्तै मानपुर बस्ती पनि तीनतिरबाट नदीले घेरिएको छ । बस्तीको दक्षिणपट्टि दक्षिण भदुइ रहेको छ । दुबै गाउँ नदीबाट ‘यू’ आकारमा घेरिएका छन् । 

Residents of Kapilvastu-3 Bhadui and Manpur say – ‘Vote for those who save the village from Katan’

मानपुरका ८५ वर्षीय गज्जु उपाध्यायले पुराना नेतासित वाक्क–दिक्क भइसकेको सुनाए । ‘२० वर्षमा १६ बिघा खेत नदीले कटान गरिसक्यो,’ उनले भने, ‘साँझ–बिहान हातमुख जोर्न समस्या हुन थालेको छ ।’ वर्षामा नदी उर्लिएर आउने भएकाले रातिभरि निन्द्रा नलाग्ने उनले बताए । 

‘जाग्राम बसेर बालबच्चा कुर्नुपर्छ,’ उनले भने, ‘नदी कटान रोक्नुपर्‍यो भनेर सासदसंग हारगुहार गर्दागर्दै थाकिसक्यौं । तर, निर्धाको बोली कसैले सुनेनन् ।’ त्यसैले निर्वाचनमा भोट हाल्नै मन नलाग्ने उनले बताए । अहिलेसम्म दुई गाउँको गरेर एक हजार बिघा खेत कटान भइसकेको स्थानीय बताउँछन् । यी बस्ती विकासका दृष्टिकोणले पनि छायामा परेका छन् । गाउँ पुग्न बस्तीको पूर्वपट्टिको नदीमा ८ वर्षअघि झुलुङ्गे पुल बनाइएको थियो । त्यो पनि जीर्ण बनिसकेको छ । केही समय अघि दुबै तर्फको पहुँच मार्ग भत्किएपछि पुल प्रयोगविहीन बनेको थियो । 

मानपुर गाउँमा इँटा बिछ्याएर करिब २० मिटर सामान्य बाटो बनाइएको छ । स्थानीय ६५ वर्षीय धर्मराज पालले भने वर्षाका बेला बाटोमा हिँड्न नसकिने बताए । ‘घुँडासम्म हिलो आउँछ,’उनले भने, ‘लोकतन्त्रमा विकासको मूल फुट्छ भन्थे, कस्तो विकास रहेछ कुन्नी थाहा भएन ।’ चार भाइको गरेर १० वर्षमा २० बिघा खेत कटान भइसकेको उनले बताए । अब २० बिघा खेत पनि बाँकी नरहेको उनले बताए । त्यसैले सबै गाउँले ‘गाउ जोगाउने’लाई भोट दिने निर्णय गरेको बताए । 

यहाँका बासिन्दाले कटानबाट बचेको घरजग्गाको लालपूर्जा पनि पाएका छैनन् । नेताका घर धाएपछि ०७६ मा जग्गाको नापी भयो । तर, पूर्जा अझै पाउन सकेका छैनन् । ‘त्यही भएर उम्मेदवार देख्यो कि प्रश्न गर्न मन लाग्छ,’ ५७ वर्षीय विश्वनाथ मौर्यले भने, ‘प्रश्न गर्न थाल्यो भने उम्मेदवार भाग्छन् । भाग्ने उम्मेदवार चाहिँदैन् ।’

गाउँलेको पीडामा मल्हम लगाउने प्रतिबद्धता चाहिएको उनको भनाई छ । गत वर्ष असार र साउनमा आएको बाढीले भदुइ र मानपुरको डेढ सय बिघा खेत बगर बनाएको थियो । ‘न राहत पाइयो, न कोही सोध्नै आए,’ मौर्य भन्छन्, ‘यस्ता गैरजिम्मेवार जनप्रतिनिधि किन चाहियो ।’ बाढीले मानपुर–भदुई आवतजावत गर्ने चार मिटर चौडा र तीन सय मिटर लामो ग्राभेल सडक पनि बगाएको थियो । 

Residents of Kapilvastu-3 Bhadui and Manpur say – ‘Vote for those who save the village from Katan’

‘अब भाषण सुनेर भोट हाल्ने समय गयो, समस्यामा साथदिने जनप्रतिनिधि चाहियो,’ भदुइका रामसागर चौधरीले भने, ‘दुई गाउँका आधारभूत आवश्यकता हल हुनसकेका छैनन् ।’ गाउँमा शिक्षा, स्वास्थ्य, बाटोघाटो र रोजगारी छैन । असारदेखि असोजसम्म हिडडुल गर्न सकिँदैन । ६ कक्षा भन्दा माथि पढ्न परे दैनिक ५ देखि १० किलोमिटर टाढा हृदयनगर र सौनहवा पुग्नुपर्छ । स्वास्थ्य चौकी तीन किलोमिटर टाढा बेदर्मीमा छ । खानेपानी अभाव छ । रोजगारीकालागि युवा भारतमा निर्भर छन् । गाउँमा १० कक्षा भन्दा धेरै अध्ययन गरेका व्यक्ति भेट्न मुस्किल पर्छ । 

यहाँका बासिन्दालाई नेपाल भन्दा भारतसित बसउठ र कारोबार सहज छ । बस्तीबाट चार किलोमिटर दूरीमा भारतको बलरामपुर जिल्लाको मैनिहवा बजार छ । नेपाली भूभाग नाघेर भारत पुग्नासाथ राम्रो सडक आउँछ । खाद्यान्न र उपचारकालागि भारत पुग्छन् । ‘भारतमा सस्तो र सजिलै सेवा पाइन्छ,’ मानपुरका स्वामीनाथ मौर्याले भने, ‘हाम्रोतिर बाटोघाटो राम्रो छैन । धेरै टाढा जानुपर्छ । टाढासम्म गए पनि सजिलै सेवा मिल्दैन ।’

पहिले पनि चुनावमा विकास, रोजगारी, सुशासन र समृद्धिको वाचासहित उम्मेदवार गाउँमा आएका थिए । तर, वाचा बोलीमामात्र सीमित हुँदा मतदातामा निराशा छाएको मानपुरका बंशी यादवले बताए । गाउँका चिया पसलमा अहिले चुनावी गफगाफ र किस्सा चलिरहेका छन् । ‘फराकिलो सडक, बजार, समयमै मलखाद, बीउ, सिँचाइ, कुलो, पानी र आफ्नै उत्पादनको उचित मूल्य खोजिरहेका छौं,’ यादवले भने, ‘माग सम्बोधन गर्नेले भोट पाउनेछन् ।’ 

जिल्लामा सबैभन्दा धेरै उम्मेदवार कपिलवस्तु–३ मा छन् । तर मतदाता भने अन्य दुई निर्वाचन क्षेत्रका भन्दा कम छन् । कपिलवस्तु–३ बाट दलका १३ र २३ जना स्वतन्त्र गरि ३६ जना प्रतिस्प्रर्धामा छन् । एक लाख १८ हजार ४ सय ४ मतदाता छन् । 

मनोज पौडेल

Link copied successfully