वर्षायाममा अर्रा नदीले बस्ती कटान गरेर बगाउने चिन्ता हुन्छ । यहाँका बासिन्दा फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारसित कटानबाट बस्ती जोगाउने योजनाबारे प्रश्न सोध्न आतुर छन्।
What you should know
कपिलवस्तु — गाउँको किनार हुँदै अर्रा नदी बग्छ । जसलाई स्थानीयले चरङहवा नदी पनि भन्छन्, त्यही नदी अहिले गाउँ पस्न मुस्किलले ५० मिटर बाँकी छ । गाउँका कच्ची घरसँगै नेपाल–भारत सीमा सटेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३ स्थित भदुई गाउँ अहिले कृष्णनगर नगरपालिका–१२ मा रहेको छ ।
वर्षायाममा अर्राले बस्ती कटान गरेर बगाउने चिन्ता हुन्छ । स्थानीयले बस्ती जोगाउन माग गर्न थालेको वर्षौं भइसक्यो । स्थानीय तहदेखि संघीय जनप्रनिधि समक्ष हारगुहार गरे पनि सुनुवाई भएको छैन । यहाँका बासिन्दाले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारसित कटानबाट बस्ती जोगाउने योजना के छ ? भनेर प्रश्न सोध्न आतुर रहेको बताए । तर, अहिलेसम्म उम्मेदवार बस्तीमा पुगेका छैनन् ।
नयाँ उम्मेदवार गाउँ आउनासाथ बस्ती जोगाउन नदी नियन्त्रणका लागि प्रतिबद्धता गराउने तयारीमा स्थानीय छन् । यसअघि जितेर गएका उम्मेदवार भोट माग्न आएमा अहिलेसम्म के गर्यौ भनेर झाँको झार्ने स्थानीय रामदेव कुर्मीले बताए । ८० वर्ष अवधिमा भदुई गाउँका बासिन्दाले बाढीबाट जोगिन तीनपटक ठाउँसारी गरिसके । ‘अब सर्ने ठाउँसम्म छैन्, अगाडि नदी पर्छ,’ उनले भने, ‘घरको बलेनीबाट दसगजामै पानी खस्छ ।’
अहिलेसम्म १५ बिघा खेत कटान भइसकेको उनले बताए । उनका अनुसार अब ५/६ बिघा खेत मात्र बाँकी छ । उनको परिवारमा ७ सदस्य छन् । कटान नरोकिएकाले कतिखेर बचेको खेत र घर बग्छ भन्ने ठेगान नरहेको उनले बताए । ‘कपिलवस्तु–३ बाट ०४८ सालयता ४ जनालाई जिताएर पठायौं,’ उनले भने, ‘कसैले बस्ती जोगाउन कोशिष गरेनन् ।’
१७ घर रहेको भदुइसँगै ३५ घर रहेको मानपुरको पनि उस्तै समस्या छ । कालो बादल मडारिनासाथ मानपुरका गाउँले सतर्क हुन्छन् । भगवानको नाम जप्दै बस्ने गरेको स्थानीय सुनाउँछन् । भदुइ जस्तै मानपुर बस्ती पनि तीनतिरबाट नदीले घेरिएको छ । बस्तीको दक्षिणपट्टि दक्षिण भदुइ रहेको छ । दुबै गाउँ नदीबाट ‘यू’ आकारमा घेरिएका छन् ।
मानपुरका ८५ वर्षीय गज्जु उपाध्यायले पुराना नेतासित वाक्क–दिक्क भइसकेको सुनाए । ‘२० वर्षमा १६ बिघा खेत नदीले कटान गरिसक्यो,’ उनले भने, ‘साँझ–बिहान हातमुख जोर्न समस्या हुन थालेको छ ।’ वर्षामा नदी उर्लिएर आउने भएकाले रातिभरि निन्द्रा नलाग्ने उनले बताए ।
‘जाग्राम बसेर बालबच्चा कुर्नुपर्छ,’ उनले भने, ‘नदी कटान रोक्नुपर्यो भनेर सासदसंग हारगुहार गर्दागर्दै थाकिसक्यौं । तर, निर्धाको बोली कसैले सुनेनन् ।’ त्यसैले निर्वाचनमा भोट हाल्नै मन नलाग्ने उनले बताए । अहिलेसम्म दुई गाउँको गरेर एक हजार बिघा खेत कटान भइसकेको स्थानीय बताउँछन् । यी बस्ती विकासका दृष्टिकोणले पनि छायामा परेका छन् । गाउँ पुग्न बस्तीको पूर्वपट्टिको नदीमा ८ वर्षअघि झुलुङ्गे पुल बनाइएको थियो । त्यो पनि जीर्ण बनिसकेको छ । केही समय अघि दुबै तर्फको पहुँच मार्ग भत्किएपछि पुल प्रयोगविहीन बनेको थियो ।
मानपुर गाउँमा इँटा बिछ्याएर करिब २० मिटर सामान्य बाटो बनाइएको छ । स्थानीय ६५ वर्षीय धर्मराज पालले भने वर्षाका बेला बाटोमा हिँड्न नसकिने बताए । ‘घुँडासम्म हिलो आउँछ,’उनले भने, ‘लोकतन्त्रमा विकासको मूल फुट्छ भन्थे, कस्तो विकास रहेछ कुन्नी थाहा भएन ।’ चार भाइको गरेर १० वर्षमा २० बिघा खेत कटान भइसकेको उनले बताए । अब २० बिघा खेत पनि बाँकी नरहेको उनले बताए । त्यसैले सबै गाउँले ‘गाउ जोगाउने’लाई भोट दिने निर्णय गरेको बताए ।
यहाँका बासिन्दाले कटानबाट बचेको घरजग्गाको लालपूर्जा पनि पाएका छैनन् । नेताका घर धाएपछि ०७६ मा जग्गाको नापी भयो । तर, पूर्जा अझै पाउन सकेका छैनन् । ‘त्यही भएर उम्मेदवार देख्यो कि प्रश्न गर्न मन लाग्छ,’ ५७ वर्षीय विश्वनाथ मौर्यले भने, ‘प्रश्न गर्न थाल्यो भने उम्मेदवार भाग्छन् । भाग्ने उम्मेदवार चाहिँदैन् ।’
गाउँलेको पीडामा मल्हम लगाउने प्रतिबद्धता चाहिएको उनको भनाई छ । गत वर्ष असार र साउनमा आएको बाढीले भदुइ र मानपुरको डेढ सय बिघा खेत बगर बनाएको थियो । ‘न राहत पाइयो, न कोही सोध्नै आए,’ मौर्य भन्छन्, ‘यस्ता गैरजिम्मेवार जनप्रतिनिधि किन चाहियो ।’ बाढीले मानपुर–भदुई आवतजावत गर्ने चार मिटर चौडा र तीन सय मिटर लामो ग्राभेल सडक पनि बगाएको थियो ।
‘अब भाषण सुनेर भोट हाल्ने समय गयो, समस्यामा साथदिने जनप्रतिनिधि चाहियो,’ भदुइका रामसागर चौधरीले भने, ‘दुई गाउँका आधारभूत आवश्यकता हल हुनसकेका छैनन् ।’ गाउँमा शिक्षा, स्वास्थ्य, बाटोघाटो र रोजगारी छैन । असारदेखि असोजसम्म हिडडुल गर्न सकिँदैन । ६ कक्षा भन्दा माथि पढ्न परे दैनिक ५ देखि १० किलोमिटर टाढा हृदयनगर र सौनहवा पुग्नुपर्छ । स्वास्थ्य चौकी तीन किलोमिटर टाढा बेदर्मीमा छ । खानेपानी अभाव छ । रोजगारीकालागि युवा भारतमा निर्भर छन् । गाउँमा १० कक्षा भन्दा धेरै अध्ययन गरेका व्यक्ति भेट्न मुस्किल पर्छ ।
यहाँका बासिन्दालाई नेपाल भन्दा भारतसित बसउठ र कारोबार सहज छ । बस्तीबाट चार किलोमिटर दूरीमा भारतको बलरामपुर जिल्लाको मैनिहवा बजार छ । नेपाली भूभाग नाघेर भारत पुग्नासाथ राम्रो सडक आउँछ । खाद्यान्न र उपचारकालागि भारत पुग्छन् । ‘भारतमा सस्तो र सजिलै सेवा पाइन्छ,’ मानपुरका स्वामीनाथ मौर्याले भने, ‘हाम्रोतिर बाटोघाटो राम्रो छैन । धेरै टाढा जानुपर्छ । टाढासम्म गए पनि सजिलै सेवा मिल्दैन ।’
पहिले पनि चुनावमा विकास, रोजगारी, सुशासन र समृद्धिको वाचासहित उम्मेदवार गाउँमा आएका थिए । तर, वाचा बोलीमामात्र सीमित हुँदा मतदातामा निराशा छाएको मानपुरका बंशी यादवले बताए । गाउँका चिया पसलमा अहिले चुनावी गफगाफ र किस्सा चलिरहेका छन् । ‘फराकिलो सडक, बजार, समयमै मलखाद, बीउ, सिँचाइ, कुलो, पानी र आफ्नै उत्पादनको उचित मूल्य खोजिरहेका छौं,’ यादवले भने, ‘माग सम्बोधन गर्नेले भोट पाउनेछन् ।’
जिल्लामा सबैभन्दा धेरै उम्मेदवार कपिलवस्तु–३ मा छन् । तर मतदाता भने अन्य दुई निर्वाचन क्षेत्रका भन्दा कम छन् । कपिलवस्तु–३ बाट दलका १३ र २३ जना स्वतन्त्र गरि ३६ जना प्रतिस्प्रर्धामा छन् । एक लाख १८ हजार ४ सय ४ मतदाता छन् ।
