कृष्णसार जनचेतना युवा स्पोर्ट क्लबको आयोजनामा गुलरिया नगरपालिका–७ बसपार्कनजिकै सोमबारदेखि महोत्सव संचालन हुन लागेको हो ।
बर्दिया — गुलरियामा कृषि, पर्यटन, उद्योग व्यापार तथा बृहत सांस्कृतिक महोत्सव सोमबारदेखि सुरु हुन लागेको छ ।
कृष्णसार जनचेतना युवा स्पोर्ट क्लबको आयोजनामा गुलरिया नगरपालिका–७ बसपार्कनजिकै सोमबारदेखि महोत्सव संचालन हुन लागेको हो । महोत्सव फागुन ७ गतेसम्म संचालन हुने छ ।
गुलरिया नगरपालिका–४ कैलाशनगर स्थित निर्माणधिन अपुरो बुढानिलकण्ठको मन्दिर पूरा गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको श्कृष्णसार जनचेतना युवा स्पोर्ट क्लबका अध्यक्ष एसके सिद्धान्त शर्माले बताए । ‘निर्माणधीन पाँचतल्ले बुढानिलकण्ठ मन्दिर बजेटको अभावमा अधुरो छ,’ अध्यक्ष शर्माले भने,‘महोत्सवबाट उठेको रकमले अधुरो मन्दिरलाई पूर्ण बनाइनेछ ।’
महोत्सवमा स्टल राख्ने गुलरियाका स्थानीयलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको महोत्सवका संयोजक राजु भण्डारीले बताए । महोत्सवमा एक सय स्टल राखिने उनले बताए। महोत्सवमा ४० लाख बराबरको कारोबार हुने आयोजकको अनुमान छ ।
महोत्सव प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ । जसमा अपाङ, असहाय, वृद्धवृद्धालाई पूर्ण छुट गरिएको छ भने विद्यार्थी र जेनजीलाई २० प्रतिशत छुट गरिएको छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, स्थानीय उत्पादन प्रदर्शनी, थारु कला संस्कृति र थारु परिकारको आकर्षण रहने आयोजकले जनाएको छ ।
