स्थानीय कला र संस्कृतिको प्रदर्शन समेत गरिएको महोत्सवमा कृषिजन्य वस्तुुसँगै अन्य स्थानीय उत्पादनकाे किनमेल भइरहेको हो।
रोल्पा — कृषि, पर्यटन एवं आन्तरिक व्यापार वृद्धि गर्ने उद्देश्यले रोल्पाको लिवाङमा संचालित रोल्पा जलजला महोत्सवमा कृषिजन्य वस्तुदेखि ढुंगाको पनि व्यापार भइरहेको छ।
स्थानीय कला र संस्कृतिको प्रदर्शन समेत गरिएको महोत्सवमा कृषिजन्य वस्तुुसँगै अन्य स्थानीय उत्पादनकाे किनमेल भइरहेको हो।
स्थानीय सन स्टार युवा क्लबले आयोजना गरेको महोत्सवमा लिवाङ र पूर्वी रोल्पाको मार्बल बनाउने ढुंगा र ब्ल्क (इँटा) को समेत व्यापार भएको छ। १५ माघदेखि संचालित महोत्सवमा सुरुका दिनमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी भएको थियो। कृषिजन्य उत्पादन अन्तर्गत विभिन्न गाउँबाट उत्कृष्ट कृषकले उत्पादन गरेका उत्पादन ल्याएका थिए। क्लबका अध्यक्ष पूर्ण केसीले सबै प्रकारका उत्पादनलाई प्रदर्शनीमा राखेर स्थानीय उत्पादनको विकास गर्न महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवमा विभिन्न स्थानीय तह, क्लब र आमा समूहले सांस्कृतिक कला प्रदर्शनीमा राखेका थिए। स्थानीयदेखि केन्द्रीय कलाकारहरुले नाच र कलाको प्रदर्शनी गरेका गरिरहेका छन्।
महोत्सवको मौकामा निर्माण भइरहेको नेपाली चलचित्र 'मितज्यू' को छायांकन समेत भएको थियो। रोल्पा घर भएका उक्त चलचित्रका निर्माता जनक घर्ती मगरले महोत्सवको अवसर पारेर छायांकन गरेको बताए।
अनिल बुढा मगर निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, टेरिया मगर लगायत कलाकार छन्। चलचित्रको छायांकन रोल्पाको लिवाङ, खुमेल, मिझिङ लगायत दाङमा गरिएको छ।
महोत्सवको आयोजक सन स्टार युवा क्लबले अघिल्लो वर्ष राष्ट्रिय स्तरको भलिबल खेल संचालन गरेको थियो। महोत्सव २५ माघसम्म संचालित हुनेछ।
