एकीकृत घुम्ती शिविरबाट एक दिनमै ४२९ जनाले सेवा पाए

माथागढी गाउँपालिकाको आयोजनामा सञ्चालन भएको शिविरमा पालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा दिइएको थियो ।

माघ २४, २०८२

माधव अर्याल

429 people received services in one day from the integrated mobile camp

What you should know

पाल्पा — माथागढी गाउँपालिका–१ चिदीपानीमा राखेको एकीकृत घुम्ती शिविरबाट एक दिनमै ४ सय २९ जनाले सेवा पाएका छन् ।

माथागढी गाउँपालिकाको आयोजनामा सञ्चालन भएको शिविरमा पालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा दिइएको थियो । 

नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले राखेको शिविरमा एलोपेथिक स्वास्थ्य सेवा अन्तर्गत हाडजोर्नी रोग परीक्षण, जनरल मेडिसिन, स्त्री रोग परीक्षण तथा परामर्श, छाला रोग परीक्षण, प्रजनन् स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

यसैगरी शिविरमा यौन रोग परीक्षण, परिवार नियोजन सेवा (इम्प्लान्ट तथा आईयुसिडी), ल्याब सेवा तथा निःशुल्क औषधि वितरण गरिएको वडाध्यक्ष राजकुमार पन्थीले बताए । शिविरबाट स्वास्थ्य सेवातर्फ १ सय ८५ जना, कृषि सेवातर्फ ८४ जना, पशु सेवातर्फ ८९ जना, आयुर्वेद सेवा अन्तर्गत जेष्ठ नागरिकतर्फ १० जनाले सेवा लिएका छन् । 

आयुर्वेद सेवातर्फ दीर्घ रोग, जीवनशैलीजन्य समस्या तथा सामान्य रोगको आयुर्वेदिक उपचार, परामर्श तथा औषधि वितरण गरिएको थियो । कृषि तथा पशुपन्छी सेवातर्फ बाली तथा माटो परीक्षण, फार्म दर्ता तथा नवीकरण सेवा ६३ जनालाई उपलब्ध गराइएको थियो । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामार्फत जेष्ठ नागरिक परिचय पत्र वितरण गरिएको वडाध्यक्ष पन्थीले बताए । 

शिविरले नागरिकको समय, श्रम र खर्च बचत गर्ने उनले बताए । स्थानीय सरकारलाई नागरिकको नजिक पुर्‍याउने महत्वपूर्ण माध्यम शिविर रहेको स्थानीय बासिन्दा रमेश न्यौपानेले बताए । नागरिकलाई एकै स्थानबाट छिटो, सहज र गुणस्तरीय सेवा प्रदान गरेको उनले बताए ।

पालिकाबाट प्रदान गरिने सबै शाखा तथा सम्बन्धित निकायबीच समन्वय गरेर सेवाग्राहीलाई व्यवस्थित, सहज र प्रभावकारी सेवा प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully