बर्दियाका ४ हजार बढी किशोरीलाई एचपिभी खोप दिने तयारी

कक्षा ६ मा अध्ययनरत सबै र कक्षा ७ देखि १० मा अध्ययनरत गत वर्ष खोप लगाउनबाट छुटेका किशोरीलाई एचपिभी खोप लगाइने छ ।

माघ २०, २०८२

रामप्रसाद चौहान 

Preparations to vaccinate over 4,000 teenage girls in Bardiya

बर्दिया — जिल्लास्थित ४ हजार बढी किशोरीलाई महिलाको पाठेघरको मुखको क्यान्सर गराउने भाइरसविरुद्धको (एचपिभी) खोप दिने तयारी भएको छ।

माघ २५ गतेदेखि सुरु हुने अभियानमा जिल्लाका ४ हजार बढी किशोरीलाई एचपिभि खोप लगाइने जनाइएको छ ।

कक्षा ६ मा अध्ययनरत सबै र कक्षा ७ देखि १० मा अध्ययनरत गत वर्ष खोप लगाउनबाट छुटेका किशोरीलाई एचपिभी खोप लगाइने छ ।

समुदायमा रहेका १० देखि १४ वर्षका किशोरीलाई पनि उक्त खोप लगाइने स्वास्थ्य कार्यालय खोप कार्यक्रमका फोकल पर्सन राजुकुमार खड्काले बताए । ‘यस वर्ष ४ हजार ७ सय किशोरीलाई एचपिभी खोप दिने स्वास्थ्य कार्यालयको योजना छ,’ उनले भने,‘गत वर्ष छुटेका किशोरीलाई यस वर्ष खोप दिने योजना छ ।’

लक्षित समूहका किशोरीहरु नछुट्ने गरी वातावरण बनाई खोप अभियान सफल बनाउन सबैले सघाउनुपर्ने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । 

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully