निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता

पाल्पा-२ मा राजनीतिक दल, उम्मेदवार र सञ्चारकर्मीसँग आचारसंहिताका विषयमा अन्तरक्रिया सम्पन्न ।

माघ २०, २०८२

माधव अर्याल

Commitment to fully comply with the election code of conduct

What you should know

पाल्पा — जिल्लाका राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारंहिताबारे उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिसँग जिल्ला प्रशासन कार्यालयमा मंगलबार राखेको अन्तरक्रियामा क्षेत्र नम्बर २ का प्रतिनिधिहरूले तोकिएको आचारसंहिता उल्लंघनका कुनै पनि कार्य नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले सबै उम्मेदवार, राजनीतिक दल र सरोकारवाला सबैले निर्वाचन आचारसंहिता पालन गरेर सहयोग गर्न आग्रह गरे । सबैको भूमिका फरक भए पनि गोल सबैको एउटै भएकाले पनि सबै सरोकारवाला निकाय, व्यक्ति, उम्मेदवार, राजनीतिक दल, संघसंस्था, सञ्चारकर्मी सबैले आ–आफ्नो क्षेत्रबाट आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्नेमा उनले जोड दिए । राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी लगायतले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी गराएका थिए । 

आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले आचारसंहिता उल्लंघनका फोनमार्फत सूचना आउन सुरु भएको बताए । उनले कतिपय त्यस्ता सूचना अस्पष्ट भएकाले आचारसंहिता उल्लंघन भएको देखिएमा सही सूचना र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए । ‘निर्वाचन आचारसंहिता उल्लंघन भएमा सचेत गराइनेछ,’ उनले भने, ‘यदि भेटिएमा निर्वाचन आयोगमा, केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समितिमा हामीले जाहेरी गर्नेछौं ।’

स्थानीय तहका जनप्रतिनिधि सरकारी नम्बर प्लेटका सवारी साधन चढेर चुनावी प्रचारप्रसारमा हिँडेको, बाख्रा वितरण, शिक्षक सरुवा, हुँगीस्थित गुरुकुलममा राजनीतिक गतिविधि गरेको भन्ने विषयमा गुनासो आएको उनले बताए । अहिले निर्वाचन आचारसंहिता विपरीत भएका काम–कारबाहीका विषयमा आएका गुनासाका आधारमा सचेत गराउने कार्य भइरहेको उनले बताए । सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत सुवेदीले सबै पालिकालाई पालिकाको काममा बाहेक राजनीतिक गतविधिमा दुई वा चारपांग्रे सवारी साधनको प्रयोग नगर्न पत्राचार गरेको समेत बताए । 

आर्थिक विषयको आचारसंहितासम्बन्धी अनुगमन समितिका संयोजक कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख कोष नियन्त्रक सूर्यप्रसाद अर्याललाई सबै उम्मेदवारले निर्वाचन खर्चका लागि छुट्टै खाता खोलेर त्यसैबाट खर्च गरेका छन्/छैनन् भन्ने अनुगमन गर्ने जिम्मेवारी छ । कसैबाट सहयोग लिने र खर्च गर्ने काम त्यही खाताबाटै गर्नुपर्ने आचारसंहितमा उल्लेख छ । 

छलफलमा सहभागी उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालनाका लागि प्रतिबद्धता जनाउँदै सबैले आ–आफ्नो स्थानबाट आचारसंहिता पूर्ण रूपमा पालना गर्ने बताए । क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका उम्मेदवारका प्रतिनिधि धनेन्द्रराज घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवबहादुर थापाले आचारसंहिता उल्लंघन हुने क्रियाकलाप नगर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डुलबहादुर कुँवर, राष्ट्रिय जनमुक्तिका टोप अस्लामी, जनता समाजवादी पार्टीका खिकबहादुर रेश्मी, नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनका मानबहादुर दर्लामीले आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाए । 

सार्वभौम नागरिक पार्टीका रामबहादुर अस्लामी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का विष्ण ठडराई (सार्की) प्रगतिशील लोकतान्त्रिक पार्टीका बोधराज जैसी, स्वतन्त्र उम्मेदवार मोहन कुँवर थापा मगरले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबैलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिए । कतिपय सञ्चारमाध्यमले केही राजनीतिक दललाई मात्र प्राथमिकता दिएको आरोप लगाएपछि नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सेनाले समान व्यवहार गर्ने, कसैलाई उचाल्ने र कसैलाई पछार्ने काम सञ्चारमाध्यमले नगर्ने बताए । 

प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले कसैले पनि आचारसंहिता उल्लंघन हुने कार्य गर्न नहुने बताइन् । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन हुन नदिन उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे/नगरेको बारे अनुगमन गरी सिफारिस गर्ने अधिकार सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकलाई प्रदान गरेको छ । 

आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ भने प्रमुख कोष नियन्त्रकलाई राजनीतिक वित्त तथा निर्वाचन खर्चसँग सम्बन्धित विषयमा अनुगमन गर्ने जिम्मेवारीसहित अधिकृत तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वसनीय रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिता माघ ४ गतेदेखि लागू भइसकेको छ । 

राजनीतिक दल वा उम्मेदवारले जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेटलगायत लगाए/नलगाएको अनुगमन गर्नेछ । निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार पोस्टर, भित्तेलेखन, तुल, डिजिटल डिस्प्लेको प्रयोग भए/नभएको विषय अनुगमन गर्ने अधिकार रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

सवारी साधनको प्रयोग भए/नभएको विषयलाई समेत अनुगमन गरिनेछ । घोषणापत्र सार्वजनिक गरे/नगरेको विषय हेर्ने अधिकार अनुगमन अधिकृतलाई छ । निर्वाचन प्रचारप्रसारका लागि सरकारी, सार्वजनिक निकाय, गैर–सरकारी संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग लिए/नलिएको समेत हेर्ने छन् । निर्वाचन खर्चका लागि बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोल्ने भनिएको छ । खर्च गर्ने पदाधिकारी तोकी खर्च गर्ने व्यवस्था गरे/नगरेको लगायतका विषयमा अनुगमन गर्ने अधिकार अनुगमन अधिकृतलाई छ । क्षेत्र नम्बर २ मा १४ राजनीतिक दल र २ स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully