पाल्पाका कुल ११८ मतदानस्थलमध्ये २९ वटा अति संवेदनशील रहेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिए ।
What you should know
पाल्पा — दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा सुरक्षा चुनौतीका आधारमा मतदान केन्दलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरिएको छ ।
पाल्पाका कुल ११८ मतदानस्थलमध्ये २९ वटा अति संवेदनशील रहेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिए । उनका अनुसार संवेदनशील ५० र ३९ सामान्य रहेका छन् । अतिसंवेदनशील मतदानस्थलहरू मुख्यतः भौगोलिक विकटता, विगतका हिंसात्मक घटना र अन्य सुरक्षा जोखिमका आधारमा वर्गीकरण गरिन्छ ।
पाल्पा क्षेत्र नम्बर १ मा ५२ मतदान स्थल छन् । यस क्षेत्रमा १ सय १७ मतदान केन्द्र छन्। क्षेत्र नम्बर १ मा २० मतदानस्थल अति संवेदनशील रहेका छन् । यहाँ संवेदनशील २४ र सामान्य आठ मतदानस्थल रहेका छन् । क्षेत्र २ मा भने मतदानस्थल ६६ छन् । यहाँ मतदान केन्द्र १ सय ३४ छन्।
यस्तै क्षेत्र नम्बर २ मा ९ मतदानस्थल अति संवेदनशील रहेको सहायक प्रजिअ सुवेदीले बताए । यहाँ संवेदनशील २६ वटा र सामान्य ३१ वटा मतदानस्थल रहेको उनले बताए । पाल्पा क्षेत्र नम्बर १ मा ५२ र क्षेत्र नम्बर २ मा ६६ मतदानस्थल रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाभर ११८ मतदान स्थलमा २५१ वटा मतदान केन्द्र रहेका छन् । अति संवेदनशील सूचीमा राखिएका मतदान केन्द्रको वस्तुस्थितिबारे जिल्लास्थित सुरक्षा समितिले स्थलगत अनुगमन गरिरहेको छ । भौगोलिक विकटता, यातायात र सुरक्षा प्रबन्ध, निर्वाचनमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै मतदानस्थललाई वर्गीकरण गरिन्छ ।
हरेक मतदानस्थलमा एकदेखि पाँच वटासम्म केन्द्र रहेको छ । यस पटक मतदाता सङ्ख्या बढेकाले पाँच वटा मतदान केन्द्र थप गरिएको छ । पाल्पामा १ हजार ५९७ निर्वाचन प्रहरीको तालिम संचालन भइरहेको छ ।
जिल्ला सुरक्षा समितिले निर्वाचन लक्षित सुरक्षा रणनीति बनाएर सुरक्षा निकाय सक्रियताका साथ अघि बढेको जनाएको छ । निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र सुरक्षाको बाहिरी घेरामा नेपाली सेना परिचालन हुनेछ । अति संवेदनशील मतदान केन्द्रमा निगरानी बढाइसकेको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनको तुलनामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पाल्पामा ६ हजार ११० मतदाता बढेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ लाख ७ हजार ४३६ कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लािग १ लाख १ हजार ८९३ पुरुष र १ लाख ६ हजार ५४३ महिला मतदाता कायम भएका हुन् । क्षेत्र नम्बर १ मा ९८ हजार ३८३ र क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५३ मतदाता कायम भएको छ ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पामा २ लाख १ हजार ३ सय २६ जना मतदाता थिए । जसमा ९८ हजार २ सय ८ पुरुष र १ लाख ३ हजार १ सय १८ जना महिला मतदाता थिए । पाल्पामा यसअघिकै १ सय १८ मतदानस्थल यस पटक पनि कायम भएको हो । मतदाता संख्या बढेसँगै जिल्लामा यसपटक ५ वटा मतदान केन्द्र थप भएको हो । यसअघिको निर्वाचनमा पाल्पामा २ सय ४६ मतदान केन्द्र थिए । ५ वटा मतदान केन्द्र थपिएपछि २ सय ५१ पुगेको छ ।
रामपुर नगरपालिका–९ जब्गादी, निस्दी गाउँपालिका–१ बाँकामलाङ्, माथागढी गाउँपालिका–१, चिदीपानी, तिनाउ गाउँपालिका–६, मस्याम र बगनासकाली गाउँपालिका–२, पोखराथोकमा एक/एक वटा गरी ५ वटा मतदान केन्द्र थप भएको छ । पाल्पामा सबैभन्दा धेरै तानसेन नगरपालिकामा ३६ हजार ३३७ मतदाता छन् । रामपुर नगरपालिकामा २९ हजार ८६९ मतदाता छन् भने सबैभन्दा कम मतदाता पूर्वखोला गाउँपालिकामा १४ हजार ११७ मतदाता संख्या कायम भएको उनले बताए ।
क्षेत्र नम्बर १ अन्तर्गत रामपुर नगरपालिकाको १० वडा, निस्दीका ७, पूर्वखोलाका ६, रम्भाका ५, माथागढीको वडा १ चिदीपानीबाहेक ७ वडा, तिनाउको वडा ५, तानसेन नगरपालिका ८ मदनपोखरासहित ३७ वडा पर्छ । यस्तै क्षेत्र नम्बर २ अन्तर्गत तानसेन नगरपालिकाको १३ वडा, तिनाउको ५, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाका ८/८ वडाका साथै बगनासकाली गाउँपालिकाको ९ वडा पर्छ ।
फागुन २१ गते हुने निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी २९ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १ मा ९ राजनीतिक दल र ४ स्वतन्त्र गरी १३ जनाको उम्मेदवार छन् । यस्तै क्षेत्र नम्बर २ मा १४ राजनीतिक दल र २ स्वतन्त्र गरी १६ जनाको उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए।
