६ वर्षपछि तेस्रो मुलुकका नागरिकलाई खुल्यो जमुनाह नाका

कोरोनाकालदेखि जमुनाह नाकाबाट तेस्रो मुलुकका पर्यटक नेपाल आउन बन्द गरिएको थियो ।

माघ १७, २०८२

रासस

Jamuna border crossing opens to third-country nationals after 6 years

नेपालगञ्ज — जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ ।

तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूर्ण रुपमा सञ्चालन गरेपछि त्यहाँबाट आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको अध्यागमन कार्यालय जमुनाहले जनाएको छ । 

अध्यागमन कार्यालय जमुनाहकी प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सुरु भएसँगै दुई जना तेस्रो मुलुकका पर्यटक भारत हुँदै गएको जानकारी दिइन् । करिब ६ वर्षको अवधिमा आगमन र प्रस्थान जमुनाहबाट सुरु भएको उनको भनाइ छ ।

'जमुनाह नाकाबाट आवतजावत गर्ने कुनै पनि पर्यटकलाई असहज हुने अवस्था रहन्न, हामीले दिने सबै सेवा सुरु गरेका छौँ,' उनले भनिन् । नेपाल हुँदै भारत जाने र भारत हुँदै नेपाल आउनका लागि जमुनाह नाकाबाट निर्वाध आवतजावत गर्न मिल्ने उल्लेख गर्दै वलीले यसबाट पर्यटनका क्षेत्रमा नेपालले लाभ लिनसक्ने बताइन् । उनले भनिन्, 'यो नाकाबाट आवतजावत हुने भएपछि यहाँका होटेल चलायमान हुन्छन् र त्यसबाट आर्थिक कारोबार पनि बढ्न सक्छ ।'

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले नाका सञ्चालनमा आएपछि सबैभन्दा बढी खुसी यहाँका व्यवसायी हुने उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकले भारत हुँदै आएर बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको भरपुर आनन्द लिनसक्ने बताए।

उनले यो नाकाबाट आउने पर्यटकले बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका बाघलगायत वन्यजन्तुको अवलोकन गर्न पाउने बताए । कोरोनाकालदेखि जमुनाह नाकाबाट तेस्रो मुलुकका पर्यटक नेपाल आउन बन्द गरिएको थियो । 

रासस

Link copied successfully