थाई राजपरिवार सदस्य बिलासकल्यानी आज लुम्बिनी आउँदै

भारतका विभिन्न बौद्ध तीर्थस्थलमा पूजाआजा गरी बिहीबार अपरान्ह ४ बजे भैरहवाको बेलहिया नाका हुँदै उनी नेपाल प्रवेश गर्ने कार्यक्रम छ।

माघ १५, २०८२

मनोज पौडेल

Thai royal family member Bilas Kalyani arriving in Lumbini today

लुम्बिनी — थाईल्याण्डका राजपरिवार सदस्य सिनेनाथ बिलासकल्यानी बुद्ध जन्मस्थल लुम्बिनी आउँदैछिन्।

भारतका विभिन्न बौद्ध तीर्थस्थलमा पूजाआजा गरी बिहीबार अपरान्ह ४ बजे भैरहवाको बेलहिया नाका हुँदै उनी नेपाल प्रवेश गर्ने कार्यक्रम छ। 

४१ वर्षे उनी बिहीबार लुम्बिनी आएर यहाँ रहेको रोयल थाई मोनाष्ट्रीमा बस्ने कार्यक्रम छ । साँझ उनले थाई विहारमा पूजाआजा गर्ने कार्यक्रम रहेको लुम्बिनीस्थित थाई मोनाष्ट्रीका प्रमुख भिक्षु फ्रा बोधी विदेशवजिरा शुद्धीले बताए। 

शुक्रबार बिहान ९ बजे मायादेवी मन्दिरमा पूजाआजा र प्रार्थना गर्ने कार्यक्रम छ । त्यसपछि साढे १२ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम छ । त्यहाँबाट थाई एयर फोर्सको चार्टर विमान ७३७ बोईङ मार्फत २ बजे बैंकक प्रस्थान गर्ने कार्यक्रम छ।

उनले बौद्ध धर्मावलम्बीको चारधाम मानिने बौद्धगया, सारनाथ र कुशीनगर पुगेर पूजाआजा गरिन् । चार धाम अन्तर्गत पर्ने लुम्बिनीमा पूजाआजा गर्न आज आउन लागेकी हुन् । उनी ७० सदस्यीय टोलीसहित आउँदैछिन् । जनवरी २१ मा उनी चार्टड विमानद्वारा भारत पुगेकी थिइन् ।

राजपरिवार सदस्य सिनेनाथ बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन्। राजाले उनलाई शाही नोबल कन्सर्ट (अति विशिष्ट राजपरिवार सदस्य)उपाधि प्र्रदान गरेका छन्। त्यस्तै राजाले उनलाई भिक्षु भिक्षुणीलाई प्रदान गर्ने चौखुन फ्राको उपाधि पनि प्रदान गरेका छन् । 

मनोज पौडेल

Link copied successfully