हिउँ पन्छाएर खुलाइयो मध्यपहाडी लोकमार्ग

भुमे गाउँपालिका, सुरक्षाकर्मी र स्थानीय समेतको सक्रियतामा सडकमा रहेको हिउँ पन्छाएपछि बिहीबार अपरान्हदेखि आवतजावत हुन थालेको हो।

माघ १५, २०८२

महेश केसी

Mid-hill highway cleared of snow and reopened

रुकुम पूर्व — गत मंगलबार रातिको हिमपातका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्डमा बिहीबार अपरान्ह्देखि यातायात सुचारु भएको छ ।

भुमे गाउँपालिका, सुरक्षाकर्मी र स्थानीय समेतको सक्रियतामा सडकमा रहेको हिउँ पन्छाएपछि बिहीबार अपरान्हदेखि आवतजावत हुन थालेको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार मंगलबार रातिदेखि अवरुद्ध सडक खुलाउन गाउापालिका समेतको सहयोगमा प्रहरी, सेना र सशस्त्र प्रहरीहरु खटिएका थिए । गाउँपालिकाको जेसिभी मेसिनले हिउँ हटाउने र अलपत्र परेका यात्रुलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा गन्तव्यतर्फ पुर्‍याइएको हो।

बुधबारदेखि नै यातायात संचालन गर्ने प्रयास गरे पनि बिहीबार मात्रै सम्भव भएको उनले बताए । यातायात संचालनमा आए पनि तुसारो जमेर सडक चिप्लो हुने भएकाले रातिको समयमा सवारी नचलाउन अनुरोध गरिएको उनले बताए। 

करिब ३ हजार २ सय मिटरसम्मको उचाईमा रहेको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्ने र आसपासमा हरेक वर्ष हिमपातले यातायातमा प्रभावित हुँदै आएको छ। 

डिएसपी यादवले स्थानीय सरकार र सुरक्षाकर्मीले अधिकतम प्रयास गर्दै आए पनि यस्ता काममा छुट्टै दक्ष जनशक्ति र अत्याधुनिक उपकरण नहुँदा मुस्किल हुने गरेको बताए । ‘हिउँ पर्न थालेदेखि नै हामी अलर्ट भएर बसेका हुन्छौं । जब बाटो नै अवरुद्ध हुन्छ अनि चाप पर्छ । जेसिभी र गैंती–बेल्चाको सहयोगले हिउँ पन्छाउने काम गर्छौं,’ उनले भने ‘हिउँदमा लगाउने पोषाक, बुट र पञ्जा जस्ता सुरक्षाका साधान पनि हामीसँग छैनन् । जे छ त्यसैले काम गर्नुपर्ने बाध्यता छ ।’ 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully