लुम्बिनीको पर्यटनका लागि ‘लाइफलाइन’ मानिएको यो सडक बजेट अभावले ६ वर्षदेखि अलपत्र परेको थियो।
What you should know
बुटवल — बुटवललाई पर्यटकीय हब बनाउने उद्देश्यसहित निर्माण भइरहेको बेलबास–बेथरी ‘नमूना’ सडक खण्डको काममा देखिएको अन्योल हटेको छ ।
अन्तर्राष्ट्रिय महत्व बोकेको बुद्ध जन्मस्थल लुम्बिनीलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने गरी लुम्बिनीको पर्यटनका लागि ‘लाइफलाइन’ मानिएको यो सडक बजेट अभावले ६ वर्षदेखि अलपत्र परेको थियो।
संघीय सरकारले प्रदेशलाई बजेट बिना हस्तान्तरण गरेपछि निर्माणमै अन्योल भएको थियो । अहिले संघीय सरकारबाटै बजेट उपलब्ध गराउने गरी निर्माणको काम सुरु भएको हो । संघीय सरकारले प्रदेश मार्फत कार्यान्वयन गर्ने गरी चालु आर्थिक वर्षका लागि १८ करोड बजेट उपलब्ध गराएपछि सडक निर्माणको थप काम अघि बढ्ने भएको हो ।
बजेट र संघ, प्रदेशको समन्वय अभावमा २२ किलोमिटर लामो सडकको झण्डै ३ किलोमिटर सडक अलपत्र छ। आयोजनालाई पर्यटकीय सडकमा ‘बोटल नेक’ का रूपमा प्रचार गरिएको थियो । बेथरीदेखि बुटवलमध्ये अधिकांश सडक निर्माण भए पनि मोतीपुर क्षेत्रको अधुरो खण्ड निर्माणका लागि बजेट उपलब्ध भएको हो ।
बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्मको दानव नदीबाट निस्केको सिँचाइ नहरको दुई किनारमा रहेको यो सडक निर्माण भएका सिंगो लुम्बिनी प्रदेशकै नमुना पर्यटकीय सडक बन्ने छ । आयोजना तयार गर्दा नहरको दुई किनारमा दुई लेनका दुई सडक, बीचको नहरमा पानीको बहाव बढाएर डुंगा (बोटिङ) संचालन र सडकको किनारमा आर्कषक विद्युतीय बत्ती राखेर यसलाई ‘नाइट टुरिजम’ को गन्तव्य बनाउने लक्ष्य छ ।
सडकको बीच भागमा रहेको नहरलाई व्यवस्थित गरी दुवैतर्फ हरियाली (ग्रिनेरी बेल्ट), नहरको दुई किनारमा ७/७ मिटरको फराकिलो सडक, २ मिटरको साइकल लेन र १ दशलमव ८ मिटरको फुटपाथ निर्माण गर्ने योजना रहेको प्रदेश पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
२०७३ सालमा तयार भएको आयोजनाको लागत सुरु चरणमा १ अर्ब ६७ करोडको थियो । तर, अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेको आयोजनाको लागतसमेत बढेर २ अर्ब बढी पुग्न थालेको छ । मोतीपुर क्षेत्र (बेतहानीदेखि नहरपुरसम्म)को करिब ३ किलोमिटर सडक खण्डको सडक निर्माणमा बजेट अभाव हुँदै आएको हो ।
निर्माणाधीन सडक अलपत्र छाड्दा खाल्डाखुल्डी र धुलोले स्थानीयलाईसमेत समस्या थपिएको थियो । बेलबास–बेथरी सडक आयोजनालाई तीनवटा प्याकेजमा विभाजन गरी ठेक्का लगाइएको थियो । जसमध्ये दक्षिणतर्फका १२ किलोमिटरका दुई वटा प्याकेज ३७ करोड ८२ लाख ७० हजार रुपैयाँको काम सकिएको छ।
तर, उत्तरतर्फको बुटवल–बेतानी खण्डको साढे ८ किलोमिटर सडक निर्माणका लागि ६० करोड ८८ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको बज्रगुरु कान्छाराम जेभीको काम अझै पूरा हुन नसकेको हो । कम्पनीले ५ किलोमिटर खण्ड पूरा गरेको छ । तर, ३ किलोमिटर (मोतीपुर खण्ड) अलपत्र परेको हो । सम्झौता अनुसार २०७६ असारभित्रै सडक निर्माणको काम सम्पन्न हुनु पर्थ्यो । तर, ३ किलोमिटर सडक अझै अलपत्र छ।
सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका अनुसार समग्र सडकको हालसम्मको भौतिक प्रगति ६५ प्रतिशत मात्र छ । ६५ प्रतिशत काम सम्पन्न हुँदा निर्माण कम्पनीले १० करोड पेश्कीसहित हालसम्म ३५ करोड ३५ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ ।
निर्माण व्यवसायीले रकम अभावको कारण देखाउँदै काममा ढिलासुस्ती गरेको भए पनि अब कुनै बहानामा नरोकिने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए । ‘संघीय सरकारबाट चालु आर्थिक वर्षका लागि १८ करोड बजेट आउने सुनिश्चितता भएको छ,’ उनले भने, ‘सुरुमा योजना मात्र दियो, बजेट नदिएपछि समस्या थियो, अब त्यो समस्या सल्टियो, अहिले प्राप्त बजेट सकिएपछि फेरि थप बजेट माग्छौं ।’
योजना लामो समयसम्म अलपत्र पर्दा आयोजनाको बजेट लागत पनि बृद्धि भएको छ । सुरुवाती चरणमा १ अर्ब ६७ करोड रुपैयाँको अनुमानित लागत रहेको यो आयोजनाको लागत बढेर अहिले २ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी पुग्न थालेको छ । अझ आयोजनाको गुरुयोजना अनुसार पूर्णरूपमा पर्यटन मार्गका रूपमा विकास गर्न थप एक अर्ब रुपैयाँ आवश्यक पर्ने लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले बताए । ‘लागत बढे पनि अब बजेटको समस्या नपर्ला,’ उनले भने, ‘आवश्यकता अनुसार बजेट माग गर्दै जाने गरी स्रोतको सुनिश्चितता भएको छ ।’
