जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा बिहीबार आयोजना गरिएको सर्वदलीय बैठकमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले आचारसंहिताको पूर्ण पालना गर्न दल र उम्मेदवासित आग्रह गरे ।
What you should know
नेपालगन्ज — फागुन २१ मा हुने निर्वाचन निष्पक्ष, पारदर्शी र धाँधलीरहित बनाउन निर्वाचन आचारसंहिता पालनाका लागि जिल्ला प्रशासनले आग्रह गरेको छ । दलका प्रतिनिधिले प्रचारप्रसारमा भारतीय नम्बर प्लेटका गाडीको प्रयोगका साथै प्रचार सामग्रीको दुरुपयोग गरेको प्रशासनले जनाएको छ ।
निर्वाचनमा भाग लिइरहेका दलका प्रतिनिधिले आचारसंहिता पालना नगर्दा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रभावकारी अनुगमन नभएको सरोकारवालाले बताए । निष्पक्ष निर्वाचनका लागि आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही र दण्ड गरिनुपर्ने उनीहरूको भनाइ छ ।
जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा बिहीबार आयोजना गरिएको सर्वदलीय बैठकमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले आचारसंहिताको पूर्ण पालना गर्न दल र उम्मेदवासित आग्रह गरे । आचारसंहिता उल्लंघनमा शून्य सहनशिलता नीति अवलम्बन गर्ने उनले बताए । बैठकमा सहभागी तीनवटै क्षेत्रका दलका प्रतिनिधि र उम्मेदवारलाई सम्बोधन गर्दै तामाङले निर्वाचनको निष्पक्षतामा शंका गर्ने ठाउँ नराख्न आग्रह गरे । ०४८ सालदेखि ०८२ सम्म आइपुग्दा निर्वाचन मर्यादित हुँदै आएको उनको भनाइ थियो ।
जिल्लाको भौगोलिक र सुरक्षा संवेदनशील क्षेत्रमा देखिन सक्ने कठिनाइबारे दललाई आश्वस्त पार्नका लागि एकीकृत सुरक्षा योजना कार्यान्वयनमा लागिपरेको उनले बताए ।
मुख्य निर्वाचन आयुक्त दीपककुमार दाहालले सबै उम्मेदवारलाई आचारसंहिता पालना गर्न अपिल गरे । विचारधारा फरक भए पनि अहिलेको सबैको धर्म भनेको सभ्य र मर्यादित रूपले निर्वाचन सम्पन्न गराउनु रहेको उनले बताए ।
फागुन ४ मा भन्दा अगाडि प्रचारप्रसार गर्न नपाइने जानकारी दिँदै उनले सबै दल तथा स्वतन्त्र उम्मेदवारबाट आचारसंहिता पालना गर्ने प्रतिबद्धतासमेत माग गरेका थिए ।
