बर्दिया प्रहरी कार्यालयअगाडि प्रदर्शन गर्ने चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गर्ने चार जनालाई नियन्त्रणमा लिइएको डीएसपी देवेन्द्रकुमार मल्लले बताए । पक्राउ पर्नेमा एक युवती र तीन युवक रहेका छन् ।

माघ १४, २०८२

रामप्रसाद चौहान 

Four people arrested for protesting in front of Bardiya Police Office

बर्दिया — जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नामा चलखेल भएको भन्दै प्रदर्शन गर्ने चार जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गर्ने चार जनालाई नियन्त्रणमा लिइएको डीएसपी देवेन्द्रकुमार मल्लले बताए । पक्राउ पर्नेमा एक युवती र तीन युवक रहेका छन् ।

पहुँचको भरमा निर्वाचन प्रहरी छनोट गरेको आरोप लगाउँदै सार्वजनिक नतिजा सच्याउन माग गर्दै असन्तुष्ट युवाले मंगलबार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

‘नतिजाप्रति चित्त नबुझेकाहरूले निवेदन दिएपछि कापी पुनःजाँच गर्ने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको भनाइ थियो,’ गुलरिया-१० का अनुप मुराउले भने, ‘सोही अनुसार बुधबार बिहान निवेदन लिएर जाँदा प्रहरीले बल प्रयोग गरी साथीभाइलाई नियन्त्रणमा लिएको छ ।’

जिल्लामा २ हजार २५ जना निर्वाचन प्रहरीको आवेदन खुलेको थियो । जसमा पुस २५ देखि माघ १ गतेसम्म तोकिएको अवधिमा ४ हजार ४ सय जनाले आवेदन दर्ता गराएका थिए । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले मंगलबार बिहान २ हजार २५ जना उत्तीर्ण भएको अन्तिम नतिजा सार्वजनिक गरेको थियो । त्यसपछि असन्तुष्ट युवाहरू प्रदर्शनमा उत्रिएका थिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully