बाँकेमा ६१ वटा मतदानस्थल अति संवेदनशील

जिल्लाका आठवटा पालिकाका १३९ वटा मतदानस्थलमध्ये ६१ वटा अति संवेदनशील, ५० वटा संवेदनशील मतदानस्थलको रुपमा तोकिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले बताए  ।

माघ १४, २०८२

रुपा गहतराज

61 polling stations in Banke are highly sensitive

नेपालगन्ज — बाँकेमा प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएकामध्ये ६१ वटा मतदानस्थल अति संवेदनशील रहेको जनाइएको छ । 

जिल्लाका आठवटा पालिकाका १३९ वटा मतदानस्थलमध्ये ६१ वटा अति संवेदनशील, ५० वटा संवेदनशील मतदानस्थलको रुपमा तोकिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले बताए  । उनका अनुसार भारतसँग ६५ किलोमिटरको खुला सिमाना गाँसिएको जिल्लामा थप सतर्कता अपनाइएको छ । 

१३९ मतदानस्थलमा ४०० मतदान केन्द्र कायम गरिएको र केही अस्थायी मतदान केन्द्रसमेत कायम गरिने तयारी रहेको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था गरिने बताए ।

उनले सुरक्षामा निर्वाचन प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित हुने बताए । मतदानको केही दिनअघिबाटै सीमानाकामा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती पनि हुने र सो गस्ती निर्वाचनको अवधीसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

जिल्लामा यस पटक तीन लाख ५० हजार ३७१ जना मतदाता संख्या पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए  । उनले अस्थायी मतदाताको नामावली संकलन गर्ने कार्य अझै चलिरहेकाले बताए ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully