मस्कोमा पढ्न गएका विवेक युक्रेनी सेनाको नियन्त्रणमा छन्, परिवारले सरकारसँग उद्धारको माग गरिरहे पनि पहल भएको छैन ।
What you should know
बर्दिया — राजापुर नगरपालिका-१ मनपरीपुरका २५ वर्षीय विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको वर्ष दिन बितिसक्यो । हालसम्म रिहाइका लागि सरकारले खासै पहल नगरेकामा परिवार निकै चिन्तित छन् ।
पछिल्लो पटक गत भदौ अन्तिम साता मोबाइलमा एसएमएस पठाउँदै विवेकले आफू सन्चो भएको र सरकारले चाँडै रिहाइको लागि पहल गरिदिन आग्रह गरेको उनकी आमा इन्द्रादेवीले बताइन् । ‘छोराले फोन गर्न पाउँदैन होला,’ उनले भनिन्, ‘त्यही भएर होला लामो समयपछि एसएमएस आयो ।’
छोराको उद्धार गरिदिन सरकारसम्म खबर पुर्याउने कुनै नेता पनि नभएको इन्द्रादेवीको गुनासो छ । विवेक घरका जेठा छोरा हुन् । निम्न आय भएका उनी पढ्ने र कमाउने भन्दै सन् २०२२ को अक्टोबर २३ मा रुस गएका थिए ।
स्नातक अध्ययनका लागि गएका विवेक रुसको मस्कोस्थित कलेज अफ टेक्नोलोजी एन्ड फाइनान्समा अध्ययन गर्दै आएका थिए । ‘विवेक रुसी सेनामा भर्ना भएको जानकारी हामीलाई थिएन,’ उनले भनिन्, ‘कसैको लहलहीमा लागेर होला उ रुसी सेनाका लागि काम गरेको होला ।’
विवेकलाई उद्धार गरिदिन परिवारले सरकारसँग आग्रह गरेको एक वर्ष भइसक्यो । केही समयसम्म त घरपरिवारले विवेक बन्दी भएको घटना नै सार्वजनिक गरेको थिएन । सार्वजनिक गर्दा उल्टै विवेकलाई असर पर्छ कि भन्ने डर परिवारलाई थियो ।
उता विवेक बन्दी हुँदा आमा इन्द्रादेवी लामो प्यारालाइसिसकी बिरामी छिन् । खुट्टाको प्यारालाइसिस भएकी उनी छोराको नमिठो खबर पाएलगत्तै झन् थलिएकी छिन्।
काठमाडौंको तीनकुनेस्थित एनईओ नेपाल शिक्षण परामर्शदातामार्फत विवेक रुस पुगेका थिए । ‘अध्ययनसँगै कमाउँछु र आमाको उपचार गर्छु’ भन्दै बिदेसिएका विवेक युक्रेनी सेनाको नियन्त्रणमा भएको खबरले उनको घरपरिवारमा बज्रपात परेको छ । रुस गएपछि विवेकले ३५ हजार रुपैयाँ घरमा पठाएका थिए । त्यसपछि उनी बन्दी बनेको खबर आइहाल्यो । त्यसयता परिवारमा चिन्ता र तनावबाहेक केही पनि थपिएको छैन।
