क्यूआर कोडमार्फत मतदाताले आफ्नो क्षेत्रका समस्या, आवश्यकता, विकासका प्राथमिकता तथा निर्वाचित भएपछि गर्नुपर्ने कामबारे सुझाव दिन सक्ने व्यवस्था गरिएको छ ।
What you should know
पाल्पा — पाल्पाका कांग्रेस एमालेका उम्मेदवार ‘क्यूआर कोड’ स्क्यानमार्फत मतदाताको सुझाव संकलन थालेका छन्।
जिल्लामा पहिलोपटक क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार सन्दीप रानामगरले क्यूआर कोडमार्फत् सुझाव संकलनको सुरुवात गरेका थिए ।
पछिल्लो दिनमा कांग्रेसका क्षेत्र नम्बर २ का उम्मेदवार हिमालदत्त श्रेष्ठ, एमालेका क्षेत्र नम्बर १ का नारायणप्रसाद आचार्य र क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुरप्रसाद गैरेले पनि क्यूआर कोड स्कयानमार्फत सुझाव संकलनका लागि सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
क्यूआर कोडमार्फत मतदाताले आफ्नो क्षेत्रका समस्या, आवश्यकता, विकासका प्राथमिकता तथा निर्वाचित भएपछि गर्नुपर्ने कामबारे सुझाव दिन सक्ने व्यवस्था गरिएको छ । क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार श्रेष्ठले मतदातासँग सुझाव मागेका छन् । मतदाताको कुनै सल्लाह, सुझाव तथा अपेक्षा भएको खण्डमा गुगल फाराम भरेर सुझाव दिन सकिने उनले बताए ।
एमाले पाल्पा क्षेत्र नम्बर १ का एमाले उम्मेदवार आचार्यले समृद्ध पाल्पा बनाउन र अधुरा काम पूरा गर्नका लागि क्यूआरमार्फत सुझाव दिन आग्रह गरेका छन् । उनी गत २०७९ को निर्वाचनमा विजयी भएका थिए । मतदाताबाट आएका सबै सुझाव र गुनासोलाई संकलन, विश्लेषण र एकीकृत गर्दै घरदैलोमार्फत प्रत्यक्ष छलफल र बहस गर्ने उनले बताए ।
एमालेबाट क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर गैरेले डिटिजल फाराममार्फत् आम मतदातासँग सुझाव मागेका छन् । २०७९ मा निर्वाचित ठैरेले विगतमा गरिएको बाचा पूरा गर्ने अवस्थामा संसद विघटन भएर मध्यावधि चुनावमा जान परेकाले आफु पुन उम्मेदवार भएको बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गदै कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्रीय कमिटि, जिल्ला कमिटि, भातृसंगठन, शुभेच्छुक संस्थाको बैठक बसेर प्रत्यक्ष तथा क्यूआर कोड स्क्यान गरेरसमेत सुझाव दिन आग्रह गरेका छन् ।
कांग्रेस क्षेत्र नम्बर १ ले निर्वाचन सम्पर्क कार्यालयको शुभारम्भ गरिसकेको छ । उम्मेदवार रानाले क्षेत्रभर सुझाव संकलन प्रक्रिया अघि बढाएको बताए । क्षेत्रीय समितिले महाधिवेशन प्रतिनिधि शालिकराम पाण्डेको संयोजकत्वमा सुझाव संकलन समिति गठन गरेको छ ।
