दाङमा उत्पादित बधिया भालेको माग पोखरादेखि काठमाडौंबाट समेत हुने गरेको छ ।
What you should know
घोराही (दाङ) — घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो । उनको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उनी बताउँछिन् ।
'स्थानीय कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ,' उनले भनिन्, 'यो सीप सिकेपछि मैले आफै यस्तो विधिको सुरुवात गरेर भाले बधिया बनाउने काम सुरु गर्न थालेँ ।' बधिया भालेको मासु बढी स्वादिलो हुने भएकाले पनि यसको खोजी व्यापक बन्दै गएको उनको भनाइ छ ।
आठ वर्षदेखि व्यावसायिक रूपमा बधिया भोलेपालन गर्दै आएका किसान चौधरीले आगामी दिनमा यसलाई बढाउँदै लैजाने योजना बनाएका छन् । एउटा भालेलाई ३ हजारभन्दा बढी पर्ने उनले बताए । बधिया भाले सामान्यतया दुई, साढे दुई किलोको हुने गर्छ ।
उनले यो व्यवसायबाट वार्षिक रूपमा चारदेखि छ लाखको कारोबार गर्ने र घरखर्च चलाएर आधा रकम बचत हुँदै आएको बताए । उनी साना भाले किनेर पाल्छन् । यसका लागि लोकल कुखुरा पाल्ने स्थानीय किसानसँग सम्पर्क गर्ने गरेका छन् । यसरी किनेका भालेलाई करिब चार महिनापछि बधिया बनाउँछन् ।
खुला ठाउँ भएका गाउँघरमा थोरै जमिन भए पनि बधिया भाले पाल्न सहज हुने उनले बताए । सजिलो र कम लगानीमा गर्न सकिने भएकाले यो आकर्षक व्यवसाय बनेको छ । दङ्गाली पोल्टी फार्म दर्ता गरेर व्यवसाय गर्दै आएकी जानकीलाई श्रीमान्को पनि सहयोग मिलेको छ ।
'बधिया भालेको व्यावसायिक पालनबाट राम्रो आम्दानी पनि हुँदै आइरहेको छ, त्यसकारण विगत लामो सयमदेखि निरन्तरता दिँदै आइरहेका छौँ,' उनले भने, 'सबै काम आफैँले जानेपछि पछिल्लो समय झन् सहज भएको छ, बिक्रीका लागि पनि कुनै समस्या छैन ।' अघिपछिभन्दा चाडपर्वको समयमा बधिया भालेको झन् धेरै माग आउने गरेको छ ।
'साना चल्ला हुर्काएर, बधिया बनाएर बेच्दा दोब्बर मूल्य पाउन सकिन्छ,' उनले भनिन्, 'यो व्यवसाय गरेदेखि आयआर्जनका लागि अन्य काम खोज्नुपरेको छैन ।' यहाँबाट उत्पादन भएका बधिया भाले काठमाडौँ, पोखरालगायतका ठाउँसम्म पुग्ने गरेको छ ।
जानकी मात्र होइन जिल्लाका अधिकांश किसान बधिया भालेपालनमा सक्रिय छन् । बजारमा माग उच्च र पर्याप्त मूल्य पाउने भएका कारण पछिल्लो केही वर्षयता बधिया भाले दाङको प्रमुख पहिचान नै बन्दै छ ।
