किवी खेतीमा भार्सेलीको आकर्षण

भार्सेमा व्यक्तिगत मात्रै होइन किवी खेती सामूहिक रुपमा अगाडि बढिरहेको छ। टोलटोलका घरपरिवार समूह बनाएर बाँझो जग्गामा किवी लगाएर पनि आम्दानी भइरहेको छ।

माघ १२, २०८२

सन्तोष महतारा

Varseli's attraction to kiwi farming

What you should know

गुल्मी — भार्सेका यमबहादुर थापाले ११ वर्षदेखि आफ्नो पाखो बारीमा किवी खेती गरिरहेका छन् । पाँच वर्षदेखि नर्सरी स्थापना समेत स्थापना गरेका थापासँग ७ रोपनी क्षेत्रफलमा किवीको बगैंचा छ ।

१ सय ५० बिरुवा रोपेका उनले वार्षिक रुपमा किवीबाट तीन लाख र यसका बिरुवाबाट दुई लाख रुपैयाँ कमाउने गरेका छन् ।

गत वर्ष २० क्विन्टल किवी बिक्री गरेका थापासँग यसवर्ष उत्पादनमा गिरावट आएको छ । ‘एकपटक लगाएपछि आफ्नो जीवन रहनसम्म ढुक्क हुनेरहेछ’, थापाले भने, ‘किवी लगाएपछि रेखदेख मात्रै गर्ने हो भने पेन्सन जस्तै रहेछ ।’ उनले निरन्तर आम्दानी हुने किवी खेती निकै राम्रो व्यवसायिक खेती रहेको बताए ।

भार्सेकै चन्द्र श्रेष्ठले पाँच रोपनीमा किवी खेती गरेका छन् । यसवर्ष निकै कम फलेपनि १५ क्विन्टल बिक्री गरेको उनले बताए । ६ वर्षदेखि किवी लगाएका उनले बजारको केही समस्या नहुने गरेको बताए । किवीबाट अन्य बालीभन्दा आम्दानी हुने उनी बताउाछन् । ‘पुराना बालीभन्दा किवी धेरै गुणा राम्रो छ’, उनले भने, ‘सजिलो खेती भएपछि हामी आकर्षित भएका हौं ।’ उनले उत्पादन गर्न सके बजारीकरणमा समस्या नहुने बताए ।

भार्सेमा व्यक्तिगत मात्रै होइन किवी खेती सामूहिक रुपमा अगाडि बढिरहेको छ। टोलटोलका घरपरिवार मिलेर समूह बनाएर बाँझो जग्गामा किवी लगाएर पनि आम्दानी भइरहेको छ। चर्खेपिङ बहुउद्देश्यीय पशुपन्छी तथा खेतीपाती फर्ममार्फत १२ जनाले किवी खेती गरेका छन्। ३० रोपनी क्षेत्रफल दुई सय बिरुवा लगाएका उनीहरूले  जग्गा लिजमा बिरुवा लगाएका हुन्। १० वर्षदेखि भइरहेको किवी खेतीबाट वार्षिक रुपमा ३/३ क्विन्टल किवी बाँडफाँड हुनेगरेको छ।

त्यस्तै थामा सत्यवती कृषि समूह मार्फत ३३ रोपनी क्षेत्रफलमा १७ वर्षदेखि किवी खेती भइरहेको समूहका अध्यक्ष गोविन्द रानाले बताए । जसबाट ३० क्विन्टल किवी उत्पादन हुनेगरेको छ। १९ जनाको समूह रहेको छ। किवीको सिजनमा समूहबाट सबै सहभागी भएर काम गर्ने समूहकी देवी रानाले बताइन्। ‘हामीले सामुहिक रुपमा सहज तरिकाले किवी खेती गरेका छौं’, उनले भनिन्, ‘यसबाट हुने आम्दानी समूहका सबै सदस्यलाई हुन्छ ।’  सुरुवाती चरणमा पैसा उठाएर सुरुवात गरेको किवी खेती अहिले निरन्तर आम्दानी हुने स्रोत बनेको छ ।

सीमित व्यक्ति र समूह मात्रै होइन, भार्सेमा किवी खेतीमा विगतदेखि नै आकर्षण बढ्दै गइरहेको छ । भार्सेमा ६ समूह, १५ व्यावसायिक फर्म, पाँच हजारभन्दा बढी बोटबाट किवी उत्पादन भइरहेको छ। भार्सेबाट मात्रै वार्षिक रुपमा १८५ मेट्रिक टन भन्दा बढी किवी उत्पादन भइरहेको छ। किवी अधिकतम मूल्य ३ सय रुपैयाँ प्रतिकिलोमा बिक्री हुनेगरेको छ। ग्रेडिङ नगरिएको किवी प्रतिकिलो १ सय रुपैयाँदेखि २५० रुपैयाँ सम्ममा पनि बिक्री हुने गरेको छ ।

जिल्लाभर गतवर्ष ८५ हेक्टर क्षेत्रफलमा भएको किवी खेतीबाट ४ सय ४ मेट्रिक टन किवी उत्पादन भएको थियो । उत्पादित क्षेत्रफल मध्ये ४० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्रफल हो । जसमा १०.०९ मेट्रिक टन उत्पादकत्व रहेको छ । गतवर्ष जिल्लाभर किसानले किवीबाट पाँच करोड, ४५ लाख ४० हजार रुपैयाँ आम्दानी गरेका छन् ।

यसवर्ष जिल्लाभर ९० हेक्टर क्षेत्रफलमा ४८० मेट्रिक टन किवी उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेले बताए । उत्पादित क्षेत्रफल मध्ये उत्पादनशील ५३ हेक्टर क्षेत्रफल हो ।जसमा ९.०६ मेट्रिक टन उत्पादकत्व रहेको छ ।

गतवर्ष भन्दा यसवर्ष १९ प्रतिशतले किवीको उत्पादन बढेको छ । यसवर्ष किवी खेतीबाट जिल्लाभरका किसानले सात करोड २० लाख रुपैयाँ आम्दानी गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी न्यौपानेले बताए।

गुल्मीमा मुख्यगरी भार्से र म्यालपोखरीमा किवी खेती भइरहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । कृषि केन्द्रका अनुसार किवीको जिल्लाबाहिर निर्यात भने ३० देखि ३५ प्रतिशत मात्रै हुने गरेको छ । अन्य खपत जिल्लाभित्रै, कोसेली तथा पाहुरका रुपमा हुनेगरेको छ । 

एकपटक लगाएपछि लामो समयसम्म उत्पादन दिइरहने किवी खेतीलाई सामान्य मलजल र गोडमेल गरेपछि पुग्ने हुँदा यस खेतीमा आकर्षण बढिरहेको छ । बजारीकरणमा कुनै पनि समस्या नहुँदा किसान किवी खेतीमा आकर्षित छन् ।

सन्तोष महतारा

Link copied successfully