सैनामैना व्यापार संघको आयोजनामा सोमबारदेखि सुरु भएको सातौं सैनामैना महोत्सव–२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गरेका हुन् ।
बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताएका छन् ।
सैनामैना व्यापार संघको आयोजनामा सोमबारदेखि सुरु भएको सातौं सैनामैना महोत्सव–२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गरे । उनले स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलताको प्रवर्द्धनमा सबैको साझा ध्यान जानु आवश्यक रहेको बताए ।
मेला–महोत्सवमा स्थानीय उत्पादनका सामग्रीलाई प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड थियो । ‘मेला-महोत्सव आयोजना गर्दा स्थानीय उत्पादनले प्राथमिकता नपाउने अवस्था बन्नुहुँदैन,’ उनले भने, ‘मेला-महोत्सवमा स्थानीय उत्पादनले अनिवार्य रूपमा प्राथमिकता पाउनुपर्छ ।’
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार उद्योगी व्यवसायीको पक्षमा सधैं उभिने स्पष्ट पारे । प्रदेश सरकार उद्योगी व्यवसायीको रक्षा कवच बनेर उभिएको उनको दावी थियो । ‘व्यवसायीको लगानीको सुरक्षाको ग्यारेन्टीका लागि हामी खटिरहेका छौं, उनले भने, ‘लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लिन भएर लागेको छ । उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन जरुरी छ ।’
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले नवप्रवर्तनको क्षेत्रमा समेत लगानी बढाउन आवश्यक रहेको बताए ।
