आर्थिक वर्ष २०८२/८३ को ६ महिनामै ७ जना कुष्ठरोगी भेटिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताए ।
What you should know
पाल्पा — १६ वर्षअघि पाल्पालाई कुष्ठरोग निवारण जिल्ला घोषणा गरे पनि हरेक वर्ष बिरामी भेटिने गरेका छन् । स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा १८ जना कुष्ठरोगी जिल्लाभर पहिचान भएका थिए ।
यस्तै आर्थिक वर्ष २०८२/८३ को ६ महिनामै ७ जना भेटिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताए । गत आर्थिक वर्षको असारसम्म २१ जनाले औषधि खाइरहेका थिए ।
यो आर्थिक वर्षको पुससम्म थप ७ जनाले औषधि सेवन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका रम्भा र रिब्दीकोट गाउँपालिकामा अघिल्लो र चालु आर्थिक वर्षमा एक जना पनि कुष्ठरोगी भेटिएनन् । त्यसअघिको वर्षमा भने एक/एक जना भेटिएका थिए । ‘यसले जिल्लाका सबै पालिकामा बसोवास गर्नेमा कुष्ठरोगको किटाणु छ भन्ने प्रमाणित हुन्छ,’ निमित्त प्रमुख पोखरेलले भने ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्लाको तानसेन नगरपालिकामा चार जना, रैनादेवी छहरा गाउँपालिकामा एक, माथागढी गाउँपालिकामा एक, निस्दी गाउँपालिकामा तीन, पूर्वखोला गाउँपालिकामा एक, रामपुर नगरपालिकामा पाँच, तिनाउ गाउँपालिकामा तीन जना गरी १८ जना कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा रामपुरमा दुई, पूर्वखोलामा एक, बगनासकालीमा एक, रैनादेवी छहरामा एक, तिनाउमा एक र निस्दीमा दुई जना फेला परेका छन् । स्वास्थ्य कार्यालय र स्थानीय तहले सक्रिय बिरामी खोजपड्ताल, कुष्ठरोग रोकथाम कार्यक्रम, जनचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम गर्दै आएका छन्।
असमर्थता व्यवस्थापन तथा पुर्नस्थापना कार्यक्रम, बहुऔषधिको व्यवस्थापन कार्यक्रम र सुपरिवेक्षण तथा निगरानी गर्दै आएकाले पनि रोग पहिचान भएको स्वास्थ्य कार्यालयका अधिकृत विश्वनाथ न्यौपानेले बताए ।
अझै पनि कुष्ठरोगका कारण हुने अपांगता दर उच्च रहेको छ भने स्थानीय संक्रमणदरमा कमी आएको छैन । उनका अनुसार कुष्ठरोगप्रति सामाजिक भेदभाव विद्यमान रहेको छ । ‘कुष्ठरोग कार्यक्रमको अभिलेख प्रतिवेदनमा दुरुस्त हुन सकेको छैन,’ उनले भने, ‘सरोकारवालाहरुको कम प्राथमिकतामा रहेकाले पनि सम्बन्धित दक्ष जनशक्तिको कमी हुँदा समस्या देखा परेका छन् ।’
मुलुकी देवानी संहिता, २०७४ पारिवारिक कानुन परिच्छेद–१, विवाह सम्बन्धी व्यवस्था महल ७१, कुष्ठरोग भएका व्यक्तिसँग विवाह गर्न गराउन नहुने प्रावधान रहनु दुःखद भएको उनले बताए । कुष्ठरोगको बारेमा समाजमा अझै पनि अन्धविश्वास व्याप्त रहेको कार्यक्रम अधिकृत न्यौपानेले बताए । जनचेतनामार्फत कुष्ठरोगीलाई सामान्य व्यक्ति सरह व्यवहार गर्ने, भेदभाव नगर्ने, परिवारमा माया ममता र सहयोगले मात्र कुष्ठरोग निवारणमा सहयोग पुग्ने उनले बताए ।
७३ औं विश्व कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पाल्पामा आयोजित अन्तरक्रियामा उनले भने, ‘भेदभाव र लाञ्छनाका कारण कुष्ठरोगीहरु समाजमा खुल्न नसक्दा समस्या जटिल बन्ने गरेको छ ।’ कुष्ठरोगका लक्षण, उपचार र जोगिने उपायका विषयमा स्थानीय तहले बजेट व्यवस्थापन गरेर सचेतना फैलाउनुपर्ने उनले बताए । शरीरमा पाँच दागसम्म भएका विरामीले ६ महिना र त्यो भन्दा बढी दाग भएका विरामीले एक वर्ष औषधि खानुपर्छ । कुष्ठरोगको उपचार निशुल्क छ । यातायात खर्च वापत एक हजार रुपैयाँ पाउँछन् । शंकास्पद रोगीले समयमै स्वास्थ्य उपचारमा ध्यान दिनुपर्ने उनले बताए।
आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक सुक्ष्म किटाणुबाट लाग्ने सरुवा भएकाले शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखा पर्नु कुष्ठरोगको लक्षण हो।
कुष्ठरोग लागेमा अनुहार र कानका लोतीमा गिर्खा देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आाखीभौं झरेर जाने गर्छ । ‘रोगको समयमा पहिचान र निदान गरिएन भने अन्त्यमा अपांगता समेत बनाउने गर्छ,’ निमित्त प्रमुख पोखरेलले भने ।
कुष्ठरोग लागेमा स्नायुमा असर पर्ने हुँदा हातखुट्टा लगातार झमझम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु जस्ता लक्षण देखिन्छ । पाल्पालाई २०६६ साल माघ ५ गते कुष्ठरोग निवारण जिल्लाका रूपमा घोषणा भएको थियो ।
