उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा आइतबार नेपालगन्जमा गरिएको ‘नसर्ने रोगको रोकथामका लागि नागरिक समाजको पैरवी तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम’ मा सचेतीकरण प्रवर्द्धनमा जोड दिइएको हो ।
What you should know
नेपालगन्ज — नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि आफ्नो जीवन शैलीमा सुधार गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।नसर्ने रोगको जोखिम कम गर्न स्वास्थ्य सचेतना र शिक्षा आवश्यक रहेकामा जोड दिइएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा आइतबार नेपालगन्जमा गरिएको ‘नसर्ने रोगको रोकथामका लागि नागरिक समाजको पैरवी तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम’ मा सचेतीकरण प्रवर्द्धनमा जोड दिइएको हो ।
स्वस्थकर खानपान, सुदृढ जीवनशैली, नियमित व्यायाम, तौल नियन्त्रण, नियमित स्वास्थ्य चेकजाँचका लागि सर्वसाधारणलाई प्रेरित गर्न सचेतना र स्वास्थ्य शिक्षा आवश्यक रहेको सरोकारवालाको भनाइ छ । युवा पुस्तामा बढ्दै गएको धुम्रपान र मद्यपानले जोखिम बढिरहेकाले त्यस्तो लत छोड्न सुझाव दिइएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाँकेका अध्यक्ष सुरेश गौतमले स्वागत गर्दै सुरु गरेको कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव वसन्त गौतमले गरेका थिए ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. शंकुक भट्टले नसर्ने रोगको कारण, अवस्था, असर र रोकथामबारे प्रस्तुतीकरण दिएका थिए । उनले लुम्बिनी प्रदेशमा नसर्ने रोगको अवस्थाबारे प्रकाश पारेका थिए । यस्तै उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योति बानियाँले नसर्ने रोगको रोकथाममा नागरिक समाजको भूमिका र पैरवीबारे विशेष प्रस्तुति राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्ली अर्यालले स्वस्थ जीवनशैली अपनाउन सके मात्र नसर्ने रोगविरुद्धमा खरो उत्रिन सकिने बताए । उनले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने गरी आफ्नो आनीबानीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष प्रभातकुमार ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भेरी अस्पतालकी नर्सिङ प्रशासक आशा पन्थ, खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी खाद्य अनुसन्धान अधिकृत नेत्रा बोगटी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, उच्च अदालत बार एसोसिएसन नेपालगन्जका अध्यक्ष पवनकुमार गुप्ताले नसर्ने रोगको बढ्दो प्रभाव रोक्न सचेत बन्नुपर्नेमा जोड दिए ।
