बाँकेमा १६ लाख क्विन्टल धान उत्पादन, २० हजार मात्र खरिद

१६ लाख क्विन्टल धान उत्पादन भएको जिल्लामा सरकारी स्वामित्वको कम्पनीले २० हजार क्विन्टल मात्र खरिद गरेर आफूहरुलाई समस्यामा पारेको स्थानीय किसानको गुनासो छ ।

माघ ११, २०८२

रुपा गहतराज

Banke produces 1.6 million quintals of rice, purchases only 20,000

What you should know

नेपालगन्ज — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले यो वर्ष २० हजार क्विन्टल मात्र धान खरिद गरेको छ ।

निर्धारित कोटा २० हजार क्विन्टल रहेकोमा २० हजार २९४ दशमलव २० क्विन्टल धान खरिद भइसकेकोले कम्पनीले खरिद बन्द गरिसकेको छ । 

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यस वर्ष जिल्लामा १६ लाख क्विन्टल धान उत्पादन भएको छ। १६ लाख क्विन्टल धान उत्पादन भएको जिल्लामा २० हजार क्विन्टल मात्र धान खरिद गरेर सरकारले नै आफूहरुलाई समस्यामा पारेको स्थानीय किसानहरूको गुनासो छ । 

कोटा पूरा भएको भन्दै कम्पनीले अधिकांश किसानको धान खरिद नगरेपछि बजारमा सस्तो मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यताका कारण लागत पनि नउठ्ने चिन्ता भएको जानकी गाउँपालिका–२ भैयापुरका गोरख सुनारले बताए । 

उनले आफूले धान बिक्रीका लागि टोकन पाए पनि धान लिएर जाँदा कोटा पूरा भएको भन्दै फिर्ता पठाइएको हुँदा बजारमा सस्तोमा बिक्री गर्नुको विकल्प नरहेको बताए । 

डुडुवा–२ का  किसान मोहन बर्माका अनुसार सरकारले धान खरिद नगर्दा गल्ला व्यापारीले मनोमानी गर्दै समर्थन मूल्यभन्दा निकै कममा किनेको सुनाए। उनले पहिले व्यापारीले प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँसम्म मूल्य दिँदै आएकोमा अहिले खाद्यले खरिद रोक्दा २ हजारमै खरिद गरेको बताए। 

नेपाल सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको समर्थन मूल्य ३ हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ। तर गल्ला व्यापारीहरूले समर्थन मूल्यभन्दा डेढ हजार कममा धान खरिद गर्ने गरेका छन्। जसले गर्दा लागत मूल्य नै नउठ्ने चिन्तामा किसानहरू दुखी छन्।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बाँकेका लागि निर्धारण गरिएको २० हजार क्विन्टल धान खरिदको कोटा पूरा भइसकेकाले खरिद बन्द गरिसकिएको बताए। उनले यस वर्ष धान बिक्री गर्न ७२१ जना किसानले स्थानीय तहको सिफारिस लिएर आएकोमा कोटा पूरा भएपछि ५३६ जना किसानसँग मात्र धान खरिद गरिएको जानकारी दिए ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully