राष्ट्रिय सभामा लुम्बिनीबाट ३ जनाका लागि ८ उम्मेदवारबीच प्रतिस्पर्धा

लुम्बिनी प्रदेशबाट महिला, अपांगता/अल्पसंख्यक र अन्य गरी तीन जना सदस्य निर्वाचित हुँदै छन् ।

माघ ११, २०८२

दुर्गालाल केसी

8 candidates competing for 3 seats in the National Assembly from Lumbini

What you should know

दाङ — लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचन आज बिहानदेखि घोराहीमा सुरु भएको छ । ९ बजेदेखि मतदान सुरु भएको हो ।

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा अपराह्न ३ बजेसम्म मतदान हुँदै छ । मतदान सम्पन्न भएको २ घण्टाभित्र मतदान स्थलमा नै मतगणना गरी नतिजा घोषाणा गर्ने तयारी रहेको निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए ।

तीन जना राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट आठ जना उम्मेदवाबीच प्रतिस्पर्धा हुँदै छ । कांग्रेस–एमाले गठबन्धनबाट तीन, नेपाली कम्युनिष्ट पार्टीबाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुई जना उम्मेदवार छन् ।

लुम्बिनी प्रदेशबाट महिला, अपांगता/अल्पसंख्यक र अन्य गरी तीन जना सदस्य निर्वाचित हुँदै छन् । जसका लागि कांग्रेस र एमालेले तालमेल गरी उम्मेदवारी दर्ता गराएका छन् । एमालेको भागमा महिला कोटा परेको थियो भने कांग्रेसलाई अपांग र अन्य समूहबाट परेको थियो । जसअनुसार एमालेबाट मदाने गाउँपालिका–४, गुल्मीकी रामकुमारी झाँक्री उम्मेदवार छिन् ।

झाँक्री पूर्व सहरी विकासमन्त्री हुन् । उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव थिइन् । हाल उनी पुनः एमालेमा फर्किएपछि राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने अवसर पाएकी हुन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित भएकी झाँक्री अनेरास्ववियूको पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् ।

कांग्रेसबाट अपांग कोटामा लमही नगरपालिक–३, दाङका बासुदेव घिमिरे र अन्य कोटामा रेसुंगा नगरपालिका–३, गुल्मीका चन्द्र बहादुर केसीले उम्मेदवार छन् । उनीहरु कांग्रेसका पुराना नेता हुन् । 

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले पनि तीनवटै सदस्यमा उम्मेद्वार बनाएको छ । महिला कोटाबाट बराङ्दी गाउँपालिका–१, पाल्पाकी दुर्गाकुमारी भण्डारी, अपांगमा बैजनाथ गाउँपालिका–५, बाँकेका सर्जन बिक र अन्यमा बर्दघाट नगरपालिका–१४, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का बृहस्पति अधिकारीले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय जनमोर्चाबाट महिला र अन्य कोटामा उम्मेदवार छन् । महिलामा प्युठान नगरपालिका–८, प्युठानकी पद्मा पण्डित र अन्यमा मल्लरानी गाउँपालिका–२, प्युठानका बोम बहादुर खत्रीले प्रतिस्पर्धा गर्दै छन् ।

एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे र तत्कालिन माओवादी केन्द्रका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिँदै छ । भट्टराई अन्य, घिमिरे महिला र शर्मा अपांग कोटाबाट सदस्य थिए । 

लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य र १ सय ९ स्थानीय तहका २ सय १८ प्रमुख उपप्रमुख गरी ३ सय ५ मतदाता रहेकोमा हाल २ सय ९९ मतदाता छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न ४ प्रदेश सभा सदस्य र एक पालिका प्रमुखले राजिनामा दिएको र एक पालिका प्रमुख रिक्त रहेकाले मतदाता संख्या घटेको निर्वाचन अधिकृत पण्डितले बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully