लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

मतदानका लागि उम्मेदवारलगायत विभिन्न जिल्लाका पालिका प्रमुख, उपप्रमुख र प्रदेश सांसदहरु घोराही आउने क्रम सुरु भैसकेको छ ।

माघ १०, २०८२

दुर्गालाल केसी

Preparations for National Assembly elections complete in Lumbini

What you should know

दाङ — लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचन आइतबार घोराहीमा हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको लुम्बनी प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

घोराहीस्थित कर्मचारी मिलन केन्द्रकमा मतदान गर्ने स्थल तयार भैसकेको छ। मतदानका लागि उम्मेदवारलगायत विभिन्न जिल्लाका पालिका प्रमुख, उपप्रमुख र प्रदेश सांसद्हरु घोराही आउने क्रम सुरु भैसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट आठ जनाको मनोनयन दर्ता भएको छ।

कांग्रेस–एमाले गठबन्धनबाट तीन, नेपाली कम्युनिष्ट पार्टीबाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुई जनाको उम्मेद्वारी दर्ता भएको थियो । लुम्बिनी प्रदेशबाट महिला, अपांगता/अल्पसंख्यक र अन्य गरी तीन जना सदस्य निर्वाचित हुँदैछन् । जसका लागि कांग्रेस र एमालेले तालमेल गरी उम्मेद्वारी दर्ता गराएका छन् । एमालेको भागमा महिला कोटा परेको थियो भने काँग्रेसलाई अपांग र अन्य समूहबाट परेको थियो । जस अनुसार एमालेबाट मदाने गाउँपालिका–४ गुल्मीकी रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ ।

झाँक्री पूर्वसहरी विकास मन्त्री हुन् । उनी एकीकृत समाजवादीको केन्द्रीय सचिव थिइन् । हाल उनी पुनः एमालेमा फर्किएपछि राष्ट्रियसभा सदस्यको उम्मेदवारी बन्ने अवसर पाएकी हुन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित भएकी झाँक्री अनेरास्ववियूको पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् ।

कांग्रेसबाट अपांग कोटामा लमही नगरपालिक–३, दाङका बासुदेव घिमिरे र अन्य कोटामा रेसुङ्गा नगरपालिका–३ गुल्मीका चन्द्र बहादुर केसीले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरु कांग्रेसका पुराना नेता हुन्।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले पनि तीनवटै सदस्यमा मनोनयन दर्ता गराएको छ । महिला कोटाबाट बराङ्दी गाउँपालिका–१ पाल्पाकी दुर्गा कुमारी भण्डारी, अपांगमा बैजनाथ गाउँपालिका–५ बाँकेका सर्जन बिक र अन्यमा बर्दघाट नगरपालिका–१४ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का बृहस्पति अधिकारीले उम्मेद्वारी दिएका छन् ।

राष्ट्रिय जनमोर्चाले महिला र अन्य कोटामा उम्मेदवारी दर्ता गरेको छ । महिलामा प्युठान नगरपालिका–८ प्युठानकी पद्मा पण्डित र अन्यमा मल्लरानी गाउँपालिका–२, प्युठानका बोम बहादुर खत्रीले मनोनयन दर्ता गरेका छन् ।

एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे र तत्कालिन माओवादी केन्द्रका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिँदैछ । भट्टराई अन्य, घिमिरे महिला र शर्मा अपांग कोटाबाट सदस्य थिए । लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य र २ सय १७ स्थानीय तहका प्रमुख उपप्रमुख गरी ३ सय ४ मतदाता रहेको निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully