बर्दियाका ३९ मतदानस्थल संवेदनशील सूचीमा

दुई वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा क्षेत्र नम्बर १ मा २४ र क्षेत्र नम्बर २ मा १५ वटा मतदानस्थल संवेनशील सूचीमा राखिएको हो।

माघ ८, २०८२

कमल पन्थी

39 polling stations in Bardiya on sensitive list

बर्दिया — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बर्दियाका ३९ मतदानस्थल संवेदनशील सूचीमा राखिएको छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा क्षेत्र नम्बर १ मा २४ र क्षेत्र नम्बर २ मा १५ वटा मतदानस्थल संवेनशील सूचीमा राखिएको हो।

भारतसँग सीमा जोडिएका पालिकामा पर्ने क्षेत्रलाई संवेदनशील मानिएको छ । जिल्लामा शान्ति सुरक्षाको अन्य कुनै जोखिम नभएकोले अति संवेदनशील मतदान केन्द्र नरहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए। उनले सीमावर्ती क्षेत्रलाई विशेष निगरानीमा राखिने जनाए ।

आगामी निर्वाचनका लागि बर्दियामा ११ मतदानस्थल थपिएका छन् । जिल्लामा कुल ३ सय ८७ मतदानस्थल रहेको छन्। क्षेत्र नम्बर १ मा ७५ मतदानस्थल र १ सय ९९ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नायब सुब्बा अनुप ढकालले बताए । 

क्षेत्र २ मा १ सय ८८ मतदान स्थल छन्। आसन्न निर्वाचनमा जिल्लामा ३ लाख २३ हजार २ सय ६६ मतदाता  छन्। क्षेत्र नम्बर १ मा १ लाख ६८ हजार र २ मा १ लाख ५५ हजार २ सय ३२ मतदाता छन् । ०७९ को निर्वाचनमा बर्दियामा ३ लाख ११ हजार ४ सय १० मतदाता रहेका थिए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully