बर्दियामा ४ स्वतन्त्रसहित ४० जनाले गरे उम्मेदवारी दर्ता

क्षेत्र नं १ मा तीन जना स्वतन्त्र र १९ जना दलका गरी २२ जना र क्षेत्र नं २ मा १७ दलका र एक जना स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

माघ ६, २०८२

रामप्रसाद चौहान 

40 candidates, including 4 independents, registered their candidacies in Bardiya

बर्दिया — आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बर्दियाका दुवै निर्वाचन क्षेत्रमा उल्लेख्य संख्यामा उम्मेदवारी दर्ता भएको छ । दुवै निर्वाचन क्षेत्रमा ४ जना स्वतन्त्रसहित ४० जनाले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नं १ मा तीन जना स्वतन्त्र र १९ जना दलका गरी २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै क्षेत्र नं २ मा १७ दलका र एक जना स्वतन्त्र उम्मेदवार गरी १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट पूर्वमन्त्री संजयकुमार गौतम, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट थारु आयोगका पूर्वअध्यक्ष विष्णुप्रसाद थारु, एमालेबाट शालिकराम अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ठाकुरसिंह थारु, जनमतबाट यमनाथ घिमिरे, जनता समाजवादी पार्टीबाट मनोज यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोर सिंह राठोर, एमालेबाट पूर्वमन्त्री विमला विक र नेपाली कम्युनिस्ट पार्टीबाट सुरेश पन्थले उम्मेदवारी दर्ता गराएका छन् । नुतनकुमार चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस्तै जनता समाजवादी पार्टी नेपालबाट अनिरुध्या आर्य, नागरिक उन्मुक्ति पार्टी नेपाल खुशीराम थारु, नेपाल कम्युनिस्ट पार्टीबाट टीकाराम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट धर्मराज जैसी आचार्य, उज्यालो नेपाल पार्टीबाट धर्मबहादुर चौधरी, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट निता शर्मा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नेत्रराज आचार्य, राष्ट्रिय स्वतन्त्रबाट श्रीधर पोखरेललगायत अन्य पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं  १ बाट ३ र क्षेत्र नं २ बाट २ जना महिलाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नं १ मा ८३ हजार पुरुष, ८४ हजार २ सय २७ महिला र अन्य ४ गरी जम्मा १ लाख ६८ हजार ४३ मतदाता संख्या रहेको छ भने निर्वाचन क्षेत्र नं २ मा ७५ हजार ५ सय ८४ पुरुष, ७९ हजार ६ सय ४६ महिला र अन्य २ गरी १ लाख ५५ हजार २ सय ३२ मतदाता संख्या रहेको छ ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully