नेकपा, एमाले, जनमोर्चा, श्रम संस्कृति र प्रगतिशील लोकतान्त्रिक पार्टीले प्युठानका लागि उम्मेदवार टुंग्याइसकेका छन् भने कांग्रेसलगायत दलले अझै घोषणा गरेका छैनन्।
What you should know
प्युठान — फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ताको समय नजिकिँदै जाँदा प्युठानका राजनीतिक दलहरूले उम्मेदवार टुंग्याउन थालेका छन्। हालसम्म जिल्लामा पाँच वटा राजनीतिक दलले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको टुंगो लगाएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट कृष्णध्वज खड्कालाई पार्टीले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गरेको हो। नेकपा प्युठानका अनुसार लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्रीसमेत रहेका खड्काको नाम उम्मेदवारका रूपमा टुंगो लागेको हो।
यस्तै, नेकपा एमाले प्युठानले पूर्व सांसद तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाको नाम टुंगो लगाएको छ। २०७९ को निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधिसभामा विजयी भएका थापालाई दोस्रो पटक पार्टीले उम्मेदवारका रूपमा अघि सारेको हो। थापाको नाम एमाले उम्मेदवारका रूपमा टुंगो लागिसकेको एमाले प्युठानले जनाएको छ।
राष्ट्रिय जनमोर्चाले पनि आसन्न निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ। झिमरुक गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका तिलक जिसीलाई जनमोर्चाका तर्फबाट उम्मेदवारका रूपमा अघि सारिएको नेकपा मसाल प्युठानका प्रवक्ता राम पहाडीले जानकारी दिए। जिसीको नाम जनमोर्चाको तर्फबाट टुंगो लागेको हो।
यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि प्युठानमा उम्मेदवार टुंग्याएको छ। झिमरुक गाउँपालिका–८ का गोविन्द गिरीलाई पार्टीले उम्मेदवारका रूपमा अघि सारेको हो। प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि उम्मेदवार टुंगो लगाएको छ। प्रलोपा का तर्फबाट श्याम गहतराजको नाम टुंगो लागेको हो।
अन्य राजनीतिक दलहरूले भने अझै उम्मेदवारको टुंगो लगाएका छैनन्। नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले अहिलेसम्म उम्मेदवार सार्वजनिक गरेका छैनन्। नेपाली कांग्रेसका तर्फबाट निवर्तमान केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलको नाम चर्चामा छ। पोखरेल कांग्रेसका तर्फबाट चुनावमा जाने लगभग पक्का भइसकेको नेपाली कांग्रेस प्युठान स्रोतले जनाएको छ। २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका पोखरेल एमाले–जनमोर्चासहितको गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए।
