बर्दिया-२ मा नेकपाको टिकट सुरेश पन्थलाई

मधुवन नगरपालिका–४ का सुरेश पन्थलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आइतबार टिकट दिएका हुन्।

माघ ४, २०८२

रामप्रसाद चौहान 

NCP ticket for Bardiya-2 goes to Suresh Pantha

बर्दिया — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन क्षेत्र नम्बर २ बाट सुरेश पन्थलाई उम्मेदवार बनाएको छ ।

मधुवन नगरपालिका–४ का सुरेश पन्थलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आइतबार टिकट दिएका हुन्। यस्तै क्षेत्र नम्बर १ बाट वामदेव गौतमले टिकट पाएको जनाइएको छ।

एमालेले बर्दियाको दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार टुग्याएको छ। एमालेले क्षेत्र नम्बर १ बाट शालिकराम अधिकारी र क्षेत्र नम्बर २ बाट विमला विकलाई उम्मेद्वार बनाएको हो।

अधिकारी एमाले बर्दियाका अध्यक्ष एवं  बाँसगढी नगरपालिकाका पूर्वमेयर हुन् भने विक पूर्वमन्त्री हुन्। एमालेले क्षेत्र नम्बर १ बाट अधिकारीसहित ५ जनाको नाम सिफारिस गरेको थियो भने क्षेत्र नम्बर २ बाट विकसहित ५ जनाको नाम सिफारिस गरेको थियो।

यस्तै नेकपा (संयुक्त)ले बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट गुलरिया नगरपालिका–८ का ईन्द्रबहादुर रावल र क्षेत्र नम्बर २ बाट मधुवन नगरपालिका–४ की निता शर्मालाई अघि सारेको छ।

कांग्रेसले आइतबार दिउँसोसम्म उम्मेद्वार टुंग्याएको छैन। आइतबार साँझसम्म उम्मेद्वारको नाम सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय स्वतन्त्र पार्टी बर्दियाका सचिव दिपक बीसीले बताए।

पन्थ विसं २०७९ सालमा तत्कालीन एकीकृत माओवादीबाट बर्दिया–२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully