रुरु क्षेत्र मेलामा रूकुमको राडीपाखी र घाँजी आकर्षण

पाल्पा, गुल्मी र स्याङ्जाको संगम रूरू क्षेत्रमा जारी रिडी मेलामा कालीगण्डकीमा स्नान गर्ने र आफुले उत्पादन गरेका घरेलु सामग्री किनमेल गर्नेहरूको भीड लाग्छ ।

माघ ३, २०८२

माधव अर्याल

Rukum's Radipakhi and Ghanji attract visitors to Ruru Kshetra Fair

What you should know

पाल्पा — रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका टकसेराका जितबहादुर बुढामगर रिडी रूरू क्षेत्रमा लाग्ने माघे संक्रान्ति मेलामा आउन थालेको २२ वर्ष भइसक्यो।

पहिले हिँडेरै आउनु पर्ने हुन्थ्यो। साता दिन बढी लगाएर रमाइलो गर्दै आउने प्रचलन हुन्थ्यो। ‘अहिले भने दुई दिनमै सवारी साधनमा सजिलै आउन सकिन्छ,’ उनले भने, ‘तर पनि बस्दै रमाइलो गर्दै थप दुई दिन बास बसेर आउने गरिन्छ ।’ उनको बुझाईमा २० वर्षअघिको रिडी मेला र अहिले धेरै फरक छ। 

टकसेराका मात्रै ५० बढी घरका बासिन्दा जाडो छल्ने निहुँले रिडीमेलामा आउने प्रचलन थियो । अहिले भने २५/३० घरबाट आएको उनले बताए। पछिल्लो ५ वर्षयता टकसेरामा बाक्लो हिउँ परेको छैन। चिसो पनि पहिलो जस्तो हुँदैन । ‘रिडीको मेलामा पनि पहिले जस्तो सामान बिक्दैन,’ उनले भने, ‘तर पनि आइरहने भएकाले मेलामा आउन मन लाग्छ ।’ धेरै सामान आउँदाआउँदै बाटोमै बिकेको उनले बताए। 

पुथा उत्तरगंगा गाउँपालिका टकसेराकै तेजुमाया बुढा पनि १५/१६ वर्षदेखि रिडी रूरूक्षेत्र मेलामा आउने गरेकी छन्। उनलाई रिडीमा आएर फर्किदा जाडो नै गए जस्तो लाग्छ । रिडीमा घाम ताप्न पाइने, बजार पनि हुने र मेला पनि हेर्न पाइने भएकाले हरेक वर्ष आएको उनले बताइन्। ‘पहिला जस्तो भीड हुँदैन,’ रिडी बगरमा घाँजी (ओखरको भिक्री गुदी) बित्री गर्दै गरेकी उनले भनिन्, ‘हामीले पनि पहिला जस्तो सामान ल्याउँदैनौं। ल्याएका सामान बिक्री गर्दा यतै त्यो पैसा सकिन्छ ।’ रिडी मेला हेर्ने र जाडो पनि छल्न पाइने भएकाले पनि आउने गरेको उनले बताइन् । 

पाल्पा, गुल्मी र स्याङ्जाको संगम रूरू क्षेत्रमा जारी रिडी मेलामा कालीगण्डकीमा स्नान गर्ने र आफुले उत्पादन गरेका घरेलु सामग्री किनमेल गर्नेहरूको भीड लाग्छ । 

रूकुम पूर्वको पुथा उत्तरगंगाका विभिन्न स्थानबाट समूहमा महिला, पुरूष, केटाकेटी, तन्नेरी तरूनी, बृद्धबृद्धासमेत  आएका छन् । हरेक वर्ष रूरू मेलामा उनीहरू नियमित आउने गर्छन् । २५ वर्षदेखि रिडी मेला आएका टकसेराका आएका कर्मा बुढाले भने, ‘व्यापार सकिएपछि रमाइलो गर्दै फर्किन्छौं । जाडो पनि कम हुँदै जान्छ ।’ 

समूहमा हिँड्ने उनीहरूले फर्किदा राम्रै आम्दानी गरेको उनले बताए । गाउँमा हिँड्न नसक्ने मात्र बस्ने हो । उनका अनुसार ८/१० हजारको घाँजी धेरैले बिक्री गर्छन् । उनीहरू रिडीको बगरमै १५ दिन बितेको पत्त्तै नपाउने बताउँछन् । राँगोको मासुको सुकुटीदेखि तरकारी भाडाकुँडा सबै लिएर रूकुमेलीहरू आउने गर्छन् । ‘राडी, पाखी, काम्लो गाउँ छिमेकमा बिक्री गर्न समस्या हुन्छ,’ उनले भने ‘रिडी मेलामा आएपछि बिक्री गर्न सहज हुन्छ ।’

Rukum's Radipakhi and Ghanji attract visitors to Ruru Kshetra Fair

तर मुस्ताङलगायतका हिमाली जिल्लाको भनेर चीनबाट ल्याएका काम्लो, राडीपाखीले भने रूकुमेलीको व्यापारलाई असर गरेको छ । ‘अहिले धेरैले काठमाडौंतिर पठाउन थाले,’ उनले भने, ‘नक्कलीसँग प्रतिस्पर्धा गर्न गाहृो छ ।’

यहाँ हाडे ओखर फोरेर घाँजी ल्याउने पुरानो चलन हो । ‘यो हाडे फोर्न निकै मेहनत गर्नुपर्छ,’ मनु बुढाले भनिन्, ‘हामीलाई निकै दुःख हुन्छ । यहाँ सस्तो खोजेर हैरान लाग्छ ।’ तर अहिलेसम्म ल्याएको सामानहरू फिर्ता लग्नु नपरेको उनले बताइन् । मेलामा आएर फर्किने बेलामा बाँस र बाँसबाट बनेका डोको, डालो, सुपा, ढकिया, काइयो, राडीपाखी, काम्लो किन्नेको भीड लाग्छ । यसपटक भने बाग्लुङका विभिन्न स्थानबाट कमै मात्र डाला, सुपा आएको छ। पाल्पाको रैनादेवी छहराको जुठापौवा, बल्ढेङगढी, कचलबाट विगतमा भन्दा कम सुपा, डोको, डालो आएको छ । मेलाका लागि नै महिनौदेखि सुपो, डोको, डालो, मान्द्रो बनाउने प्रचलन छ । यसबाट घरखर्च चल्ने उनीहरू बताउँछन्। त्यस्तै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ, मुस्ताङ, रूकुम फूर्वबाट घरेलु सामान बिक्रीका लागि ल्याएका छन् । गुल्मीको उखुबाट बनाएको गुड पनि लोकप्रिय बनेको छ । सहकारी र व्यक्तिले उत्पादन गरेको गुड र खुदो पनि धेरै बिक्री हुने गरेको छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully