आजबाट मगरहरूको मिनाम ल्हेस ५०१९ अर्थात् नयाँ वर्ष सुरु

माघे सकरातीको अवसरमा मगर गाउँमा आफन्तहरू भेला भई परिकारहरू पकाइन्छ, नाचगान गरिन्छ र परम्परागत संस्कारलाई नयाँ पुस्तासम्म निरन्तरता दिइन्छ।

माघ १, २०८२

माधव अर्याल

The Magar New Year, Minam Lhes 5019, begins today.

What you should know

पाल्पा — आज पाल्पालगायतका पहाडी जिल्लामा मगर समुदायले भने 'माघे सकराती' पर्व मनाउँदै छन् । मगर समुदायले माघे सकराती (माघ १ गते)लाई नयाँ वर्ष मिनाम ल्हेसका रूपमा मनाउने गर्छन् ।

यस वर्ष ५०१९ सालको नयाँ वर्ष मनाइने नेपाल मगर संघ पाल्पाका अध्यक्ष शेरबहादुर सोमैले बताए । मगरहरूले माघे सकरातीमा पितृ पूजा गर्ने तथा सबै प्रकारका अन्नलाई आँगनमा ल्याएर पूजा गर्ने प्रचलन रहेको उनले बताए ।

माघे सकराती पर्वका अवसरमा मगरहरूले कन्दमूलहरू घर तथा वनबाट तरुल, सखरखण्ड, गेडागुडी, ढुङसुट खोज्ने र पकाउने गरिन्छ । मगर समुदायमा बारा अर्थात् बटुक, सेलरोटी पकाउने, गेडागुडी चोख्या वा बंगुर काट्ने र सबै आफन्तलाई बोलाएर खुवाउने प्रचलन रहेको छ ।

पहिले–पहिले विदेश गएकाहरूसमेत माघे सकराती पर्व मनाउन घर फर्किने, ज्वाइँ, भान्जा–भान्जीलाई बोलाएर खुवाउने प्रचलन थियो । मिठा–मिठा परिकार पकाएर खाने तथा खुवाउने र नाचगान गर्ने प्रचलन पाल्पाका मगर समुदायमा अहिले पनि रहेको नेपाल मगर संघकी निवर्तमान अध्यक्ष शान्ति झेडी थापाले बताइन् ।

मगर समुदायको मुख्य पर्व माघे सकरातीमा मगर बस्तीमा चहलपहलसमेत बढेको छ । मगर बस्तीमा माघे संक्रान्ति सबैभन्दा ठूलो पर्व भएको उनले बताइन् । मगर समुदायका अगुवा तानसेन नगरपालिका–६ का गमबहादुर थापा मगरका अनुसार सदियौँदेखि नै मगरहरूले माघे संक्रान्ति पर्व मनाउने गरेका हुन् ।

उनका अनुसार माघे सकरातीका दिन मगरहरूले पितृलाई तर्पण दिने प्रचलन पनि रहेको छ । कतिपयले यही दिनमा श्राद्ध गर्ने प्रचलन छ । माघे सकरातीमा अधिकांशले चेलीबेटीलाई बोलाएर खुवाउने गरिन्छ । साथै विभिन्न नाचगान गरेर रमाउने गर्छन् । पुराना कला, संस्कृतिसहित नाचगान गर्ने परम्परा रहेको छ । मगर समुदायले माघे सकराती पर्वका लागि कतिपयले १५ दिनदेखि तयारी गर्छन् ।

मगर गाउँमा जंगलबाट दाउरा संकलन गर्ने गरिन्छ । बजारमा किनमेल गर्ने, सालका पात टिपेर दुना–टपरी बनाउने, विभिन्न परिकार बनाउनका लागि कुटानी–पिसानी गर्ने गर्छन् । मगर गाउँमा बंगुर, कुखुरा, खसी–बोका, माछा लगायतको जोहोसमेत गर्ने प्रचलन रहेको माथागढी–३, कसेनीका तेजबहादुर घर्ती मगरले बताए । मगर संस्कृतिमा कला, भेषभूषा, रहनसहन तथा खानाका परिकार बनाउने र खाने प्रचलन छ । झाम्रे, कौरा, ठूलो नाच, घाटु लगायतका नाच नाच्ने चलन रहेको उनले बताए । कतिपयका घरमा दसैं, तिहारमा नआउनेहरूसमेत यही समयमा आउने प्रचलन छ ।

२०७८ सालको जनगणनाको तथ्यांकअनुसार पाल्पाको कुल जनसंख्या २ लाख ४२ हजार ४ सय २३ रहेको छ । जसमा मगरहरूको मात्र संख्या पाल्पाको कुल जनसंख्याको ५२.६ प्रतिशत अर्थात् १ लाख २७ हजार ४ सय ५० रहेको नेपाल मगर संघले जनाएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully