घर–आँगनमा आफन्त भेला भएर रमाइलो गरिरहेका छन् । थारु समुदायको नयाँ वर्ष भएकाले उमंगले माघी मनाउने गरिएको गुलरिया–५ की वडा सदस्य कालीदेवी थारुले बताइन् ।
What you should know
बर्दिया — जिल्लाका ग्रामीण बस्तीमा माघी पर्वको उल्लास छाएको छ । बस्ती–बस्तीमा माघी नाचगान र विभिन्न कार्यक्रमले रौनक छ । थारु समुदायको मुख्य पर्व भएकाले गाउँघरमा चहलपहल बढेको हो । माघी मनाउन टाढा–टाढाबाट घर फर्किरहेका छन् ।
यहाँ बुधबारबाट माघी सुरु भइसकेको छ । पर्व मनाउन अध्ययन र रोजगारीका लागि घरबाहिर रहेका थारु युवा फर्किसकेका छन् । जिल्लास्थित ८ वटै पालिकामा माघी कार्यक्रम राखिएका छन् ।
घर–आँगनमा आफन्त भेला भएर रमाइलो गरिरहेका छन् । थारु समुदायको नयाँ वर्ष भएकाले उमंगले माघी मनाउने गरिएको गुलरिया–५ की वडा सदस्य कालीदेवी थारुले बताइन् । माघीका दिन थारु समुदायका व्यक्तिले बिहान नुहाइवरी शिवको पूजा गर्ने चलन रहेको उनले बताइन् ।
त्यसैदिन अनिवार्य रूपमा ठूलाबडा आफन्तबाट आशीर्वाद लिने चलन रहेको गुलरिया–५ वालापुरका बडघर कालीप्रसाद थारुले बताए । ‘सन्तान नभएकाले यसै दिन शिवजीसँग सन्तान माग्ने परम्परा छ,’ उनले भने, ‘थारु बस्तीमा आफ्नो भेषभूषा अनुसार नृत्य गरेर नयाँ वर्षको स्वागत गरिन्छ ।’
गुलरिया–५ का ६३ वर्षीय तिहार चौधरीले परम्परा जीवित राख्न प्रयास गरिरहेको बताए । ‘पहिले माघीमा खुब मादल बज्थ्यो,’ उनले भने, ‘अहिले निकै कम सुनिन्छ, बरु डिजे बजाएर नाच्ने गरिएको छ ।’
माघीमा ढिकरी लगायत सुंगुर, बंगुर, खसी, कुखुरा काटेर विभिन्न परिकार खाने गरेको उनले बताए । मघौटा नाच्ने गरिएको छ । यही पर्वबाट थारु समुदायले वर्षभरिका लागि बडघर, चौकीदार, स्वयंसेवक लगायत गाउँका अगुवा चयन गर्ने परम्परा छ ।
