पुस महिनामा मात्रै २ सय ७९ ग्राम ९ सय ७० मिलिग्राम लागुऔषधसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।
What you should know
बर्दिया — पुस २३ गते साँझ लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो। प्रहरीले गोली चलाएर गुलरिया नगरपालिका–११ लालपुरस्थितबाट लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिन सफल भयो।
लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बाँके र बर्दिया प्रहरीको संयुक्त टोलीले भारत उत्तर प्रदेश जिल्ला बहराइच थाना मोतिपुर ग्राम लौकाहीका ३३ वर्षीय फिरोज खानलाई नियन्त्रणमा लिएको थियो।
खानको साथबाट २ सय ६६ ग्राम ५ सय ६० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको गिलो पदार्थसहित नियन्त्रणमा लिई अदालतबाट २० दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
पुस ५ गते बाँसगढी नगरपालिका–३ का २८ वर्षीय कृष्ण खत्रीलाई १० ग्राम ८० मिलिग्राम लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लियो। यस्तै पुस महिनामा २ सय ७९ ग्राम ९ सय ७० मिलिग्राम लागुऔषधसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लागुऔषध न्यूनीकरणको लागि पुसमा ३५ वटा सचेतनामूलक कार्यक्रमबाट १ हजार ४ सय ९ जना लाभान्वित भएको जिल्ला प्रहरीले जनाएको छ । चालु आर्थिक वर्ष ०८२/०८३ को साउनदेखि हालसम्म लागुऔषधसहित १ सय ३० जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीको तथ्यांकले देखाएको छ।
लागुऔषध अपराधमा संलग्नलाई सजायको दायरामा ल्याइरहेको प्रहरी उपरीक्षक सरोज पौडेलले बताए। ‘लागुऔषध न्यूनीकरणका लागि प्रहरीले सक्दो काम गरिरहेको छ,’प्रहरी उपरीक्षक पौडेलले भने,‘समयमै सूचना आएमा अपराध कन्ट्रोल गर्न सकिने हुँदा सर्वसाधारणको साथ सहयोगको खाँचो छ ।’
आर्थिक वर्ष ०७९/०८० मा ५६, आर्थिक वर्ष ०८०/०८१ मा १ सय २४ र आर्थिक वर्ष ०८१/०८२ मा १ सय ३६ लागुऔषध अपराधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। तथ्यांक अनुसार जिल्लामा लागुऔषध अपराधको मुद्दा प्रत्येक बढ्दो रहेको छ। सिमावर्ती भारतीय बजारमा लागुऔषध सहजै पाइने भएकोले न्यूनीकरणमा चुनौती देखिएको छ।
