थारु संस्कृति, परम्परा र पहिचान संरक्षण गर्न उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
कपिलवस्तु — बुद्धभूमि नगरपालिका–४ स्थित बुढ्डीमा आठौं बुद्धभूमि माघी (खिचडी) महोत्सव पुस २९ देखि माघ १ गतेसम्म आयोजना हुने भएको छ।
थारु सांस्कृतिक संरक्षण समितिको समन्वयमा थारु कल्याणकारिणी सभा बुद्धभूमि नगर समितिद्वारा तीन दिने महोत्सव आयोजना गरिएको हो।
थारु संस्कृति, परम्परा र पहिचान संरक्षण गर्न उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवमा थारु खानाका परिकार, कला संस्कृति, झुमरा, झर्रा, लाठी नाच र झाकीसहित सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने थारु कल्याणकारिणी सभा जिल्ला अध्यक्ष पवन चौधरीले बताए।
पछिल्ला वर्षमा माघी पर्वमा आधुनिक गीतसंगीतले प्रश्रय पाउँदै आएकामा यस पटक भने थारु मौलिक, कला, संस्कृतिलाई प्रस्तुत गर्न दिइने बुद्धभूमि नगरपालिका-४ का वडाध्यक्ष सुनिलकुमार चौधरीले बताए।
