लोप हुँदै छ थारू समुदायको ‘ढुम्रा’ नाच

थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्रा गीत गाउने-नाच्ने चलन हराउँदै गएकामा समुदायका अगुवा चिन्तित छन् ।

पुस २७, २०८२

रासस

The Tharu community's 'Dhumra' dance is disappearing

What you should know

तुलसीपुर (दाङ) — थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्रा नाच्ने चलन थियो ।

गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्रा गीत गाउने र नाच्ने गर्थे । गीत गाउने, नाच्ने र रातभर आगो ताप्ने चलन थियो । 

'यो हाम्रो संस्कार हो,' थारू अगुवा आशाराम चौधरीले भने, 'रातभर नाचगान गर्ने र बिहान त्यही ढुम्रा गीत गाउँदै नदी तथा खोलामा गएर नुहाउने गरिन्थ्यो । नुहाइसकेपछि महतवाले सबैलाई टीका लगाइदिने र पुनः महतवाकै घरमा पुग्ने चलन थियो ।'

महतवाका घरमा पुगेपछि सबै आआफ्नो घरमा जाने चलन भए पनि पछिल्लो समय यो चलन हराउँदै गएको थारू अगुवा चौधरीले बताउँछन् । ' पुर्खाहरूले यस्तो चलन अपनाउनुहुन्थ्यो,' उनले भने, 'तर अहिले नयाँ पुस्ताले यो कुरा चटक्कै छोड्नुभएको छ ।'

यस्तो चलन हराउँदै गएको २०–२५ वर्ष भइसकेको तुलसीपुर–१८ का  फुलाराम चौधरीले बताए । 'पहिलेपहिले उहाँहरूले यसरी ढुम्रा नाच नाच्नुहुन्थ्यो । तर अहिले नाच्न छोडियो,' उनले भने ।

नयाँ पुस्तालाई यो नाचका बारेमा जानकारी नहुँदा पनि समस्या हुने गरेको नमूना भुह्यारथान तुलसीपुरका अध्यक्ष रामशरण चौधरी बताउँछन् । उनका अनुसार यो नाचले थारू समुदायको एकताको भावना जागृत गर्ने भन्दै यसलाई संरक्षण गर्न लागिएको छ ।

'हाम्रो संस्कार, संस्कृति नभई थारू समुदायलाई एक भएको सन्देश दिने कुरा पनि हो, तर यो लोप हुने अवस्थामा छ, यसलाई संरक्षण गर्नुपर्छ, भनेर हामी लागिपरेका छौँ,' उनले भने । यो नाच लोप भएपछि प्रत्येक वर्ष कार्यक्रम गरी नाच संरक्षणमा लागेको उनको भनाइ छ । यसले नयाँ पुस्तामा नाचका बारेमा जानकारी हुने उनी बताउँछन् ।  

रासस

Link copied successfully