‘अहिलेको पुस्ताले हाम्रो मगरको संस्कृति यस्तो हुन्छ भन्ने बिर्सन थाले,’ नेपाल मगर संघकी कोषाध्यक्ष अनु राना मगरले भनिन्, ‘भ्रमण वर्षमा मगरी परिकार चिनाउन पनि यो महोत्सव सफल भएजस्तो लाग्छ ।’
What you should know
पाल्पा — रूपन्देहीको भैरहवाबाट तानसेन आएका रमेश गुप्ताले वन तरुल खाए । यहाँ सञ्चालन भएको मगरी खाना महोत्सवमा उसिनेको वन तरुल अर्थात् नाम्याको स्वादले आफूलाई लोभ्याएको उनले सुनाए । थप किनेर प्लास्टिकको थैलोमा राखे । घर आसपास उम्रिने तरुल भैरहवामा जतासुकै पाइन्छ । तर, वन तरुल पहिलो पटक खाएको उनले सुनाए ।
रूपन्देहीका रामबहादुर अस्लामी मगरले वन तरुलसँगै ढुङसुट खान पाएकामा सन्तुष्टि पोखे । ‘कतिपयले पहिलो पटक देखेका हुन सक्छन्,’ उनले भने, ‘यसको स्वादले लोभ्याउने गर्छ ।’
तानसेनको टुँडिखेलमा आइतबार मगर महिला संघले आयोजना गरेको माघी मगर खाना महोत्सवमा सहभागी वन नाम्या, बारा अर्थात् बटुक, सेल, कोदोको सेल, तरुल, सखरखण्डको स्वादमा रमाए । यही खानुका साथै धेरैले घरमा पनि लगेको संघकी अध्यक्ष राधा थापा मगरले बताइन् । ‘यहाँ पकाएका खाना धेरैले खाए,’ उनले भनिन्, ‘कतिले काँचै किनेर घर लगेको पनि देखियो ।’
बटुक अर्थात् बाराको स्वाद लिन भीड लागेको थियो । ‘बटुकले धेरैलाई तानेको देखियो,’ मगर संघ जिल्ला अध्यक्ष शेरबहादुर सोमै मगरले भने, ‘मिठो स्वादले चिसो बिर्साउने गरेको छ ।’
२०७८ सालको जनगणनाको तथ्यांक अनुसार जिल्लाको कुल जनसंख्या २ लाख ४२ हजार ४ सय २३ रहेको छ । जसमा मगर समुदायको संख्या १ लाख २७ हजार ४ सय ५० रहेको छ । मगर समुदायको मुख्य पर्वका रूपमा चिनिएको माघीको अवसरमा आयोजित महोत्सवमा स्वदेशी, विदेशी र स्थानीय पर्यटकले खानाका परिकार स्वाद चाखेका छन् ।
मगरी परिकार मास, सिल्टुङको बटुक, चोचे (बंगुर)को मासु, घर र वन तरुल मुख्य आकर्षण बनेको मगर युवा मिलन घर्ती मगरले बताए । ‘अहिलेको पुस्ताले हाम्रो मगरको संस्कृति यस्तो हुन्छ भन्ने बिर्सन थाले,’ नेपाल मगर संघकी कोषाध्यक्ष अनु राना मगरले भनिन्, ‘भ्रमण वर्षमा मगरी परिकार चिनाउन पनि यो महोत्सव सफल भएजस्तो लाग्छ ।’ मगरी खाना महोत्सव भएकाले सबै स्टलमा मगरी परिकार नै राखिएको थियो । 
बंगुरको मःम, छोयला, मासु, सेकुवा, बारबिक्यू लगायत धेरै परिकार राखिएको उनले बताइन् । ‘बंगुरको स्वाद निकै मिठोगरी खाइयो,’ महोत्सवमा सहभागी तेजन थापा मगरले भने, ‘हामीलाई निकै मन पर्छ, त्यसैले धेरै परिकार चाख्ने अवसर मिल्यो ।’
महोत्सवमा भने दर्जन बढी परिकार बनाइएका थिए । त्यस्तै थरीथरीका बटुक पनि महोत्सवको आकर्षण बन्यो । ‘बटुक सबै जातजातिले रुचाउने परिकार हो,’ मगर युवा केविन झेंडी मगरले भने ।
