१६ वर्षसम्ममा पनि क्याम्पस भवन हस्तान्तरण भएन

नेता, स्थानीय तहका पदाधिकारी, ठेकेदार र भारतीय दूतावासका कारण भवन निर्माणमा ढिलाई

पुस २७, २०८२

काशीराम डाँगी

Campus building not handed over even after 16 years

What you should know

काठमाडौँ — रोल्पाको पहिलो क्याम्पस भवन निर्माण भएको १६ वर्ष पुग्यो तर ठेकेदारले अझै हस्तान्तरण गरेका छैनन् । भारतीय दूतावासको सहयोगमा निर्माण गरिएको जिल्लाको जेठो क्याम्पस जलजला बहुमुखी क्याम्पसको भवन हस्तान्तरण गर्नुअघि नै चर्किसकेको छ । 

जिल्ला समन्वय समिति रोल्पाले समन्वय भूमिका खेल्न नसक्दा ठेकेदारले काम सम्पन्न समेत गरेका छैनन् । न त भारतीय दूतावासले बाँकी भुक्तानी नै गरेको छ ।

सदरमुकाम लिबाङस्थित क्याम्पसको भवनको निर्माण बीचैमा रोकिएको छ । आफूले हस्तान्तरण नगर्दै भवनमा क्याम्पसको पढाई भएकोप्रति ठेकेदारले आपत्ति जनाएका छन् । 

२०६६ सालमा तत्कालीन जिल्ला विकास समिति रोल्पासँगको समवन्वयमा भारतीय दूतावासले क्याम्पस भवन बनाउन सम्झौता भएको थियो । भारतीय दूतावासबाट बजेट विनियोजन गरेपछि त्यसै वर्षदेखि भवन निर्माण कार्य पनि सुरु गरिएको थियो । तर ठेकेदार कम्पनीले विभिन्न कारण देखाउँदै निर्माण कार्य ढिलो गर्‍यो । 

निर्माणमा ढिलो भएको मात्रै होइन, भवनको हस्तान्तरण पनि ढिलाई भइसकेको छ । हस्तान्तरण हुनुअघि नै क्याम्पसका कतिपय संरचना पुनः भत्किएको र बेवारिसे अवस्थामा पुगेपछि क्याम्पसको पठनपाठन त्यसै भवनबाट सुरु गरियो । जिल्ला समन्वय समितिले चासो नदिँदा र राजनीतिक नेतृत्व कमजोर भएपछि उक्त क्याम्पस भवन बेवारिसे झै बन्यो । यसबीच नागरिक समुदायको दबाब समेत अर्थपूर्ण बनेन । 

भवन निर्माण गर्ने मुख्य ठेकेदार कम्पनी ड्रागन/बिल्डर्स जेभी कम्पनी काठाडौंका प्रमुख ठेकेदार उत्तम बस्नेत नियमित सम्पर्कमा आउने नगरेको क्याम्पस प्रशासनले जनाएको छ । पटक–पटक उनलाई समेत बोलाएर ध्यानाकर्षण गराइएको क्याम्पस प्रमुख श्याम बुढामगरले बताए । 

मुख्य ठेकेदारबाट पेटीमा काम लिने थप दुई ठेकेदारहरु रुकुमका ताराप्रसाद पुन र रोल्पाका हरिबहादुर पुनलाई समेत ताकेता गरिएको क्याम्पस प्रमुख बुढाले बताए । भवनको निर्माण कार्य ९० प्रतिशत भन्दा बढी सकिएको छ । उनका अनुसार क्याम्पसको पठनपाठन त्यहींबाट गरेर हेरचाह हुने विश्वासले यता सरेपनि ठेकेदारले चासो दिएका छैनन् । 

मुख्य ठेकेदारबाट भवन बनाउन जिम्मा लिएका रुकुमका ठेकेदार ताराप्रसाद पुनबाट रोल्पाकै ठेकेदार (पेटी ठेकेदार) हरिप्रसाद पुनले निर्माण जिम्मा लिएका थिए । पेटी ठेकेदारले जिम्मा लिएको भन्दै मुख्य ठेकेदार बस्नेत पन्छिने र अन्य दुई ठेकेदारले पैसा नपाएको भन्दै पछि हट्दै आएकाले भवनको निर्माण सम्पन्न गर्न र हस्तान्तरण गर्न मुस्किल भएको क्याम्पस प्रमुख बुढाले बताए ।

भवनको निर्माण जिम्मा लिने रुकुमका ठेकेदार ताराप्रसाद माओवादी पार्टीको राजनीतिमा सक्रिय छन् भने रोल्पा कांग्रेसका उप–सभापति हरिप्रसाद हाल कांग्रेसका तर्फबाट रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले लाखौं रकम पाउनु पर्नेमा जिल्ला समन्वय समिति र भारतीय दूतावासले चासो नदिएको गुनासो गरे ।

भारतीय दूतावासको करिब ३ करोड ९० लाखको लगानीमा भवन निर्माण थालिएको थियो । भवन निर्माणमा रोल्पा जिल्ला समन्वय समितिले प्राविधिक सहयोग गर्ने प्रावधान तय भएको थियो । पहिलो ठेक्का सम्झौता अवधि २०६९ भदौभित्रै थियो । तर ठेकेदारले तोकिएको अवधिमा काम नसकेपछि त्यस यता म्याद थप गर्दै आएको जिल्ला समन्वय समिति रोल्पाका उप–प्रमुख कर्मलाल परियारले बताए ।

बेलैमा भवन निर्माण र हस्तान्तरण गर्न नसक्नु लज्जाको विषय भएको उनको स्वीकारोक्ति छ । समन्वय प्रमुख सीता आचार्यले पनि भवन चाँडै हस्तान्तरण गर्न सफल नभएकोमा गुनासो सुन्नुपरेको बताइन् । सम्झौता अनुसार अढाई तलाको २४ कोठे आधुनिक क्याम्पस भवनको रंगरोगन, कम्पाउण्डको घेराबार, फर्निचर, कम्प्युटर खरिद, पुस्तकलय निर्माण र मुख्य सडकदेखि क्याम्पससम्म कालोपत्र सडक निर्माण गर्नु पर्ने शर्त एवं जिम्मेवारी ठेकेदारमाथि थियो । ती मध्ये केही काम हुन बाँकी छ । 

बाँकी काम सम्पन्न गरेर हस्तान्तरण गराउन निकै प्रयास गर्दै आएको स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुमन विश्वकर्माले बताए । उनले ठेकेदारले ध्यान दिएमा काम चाँडै हुने बताए । क्याम्पस प्रमुख बुढाका अनुसार क्याम्पस भवन सही सलामतमा हस्तान्तरण गर्न पहल भएको बताए । ठेकेदारले करिब ४५ लाख रकम पाउन बाँकी छ ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully