भाषा, भेषभूषा र संस्कृति जगेर्ना गर्न मगर नै लाग्नुपर्छ : केन्द्रीय सहअध्यक्ष बिरकट्टा
What you should know
पाल्पा — मगर समुदायको आफ्नै भाषा, भेषभूषा र संस्कृति जगेर्ना गर्न मगरहरू नै लाग्नुपर्नेमा पाल्पामा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्। आफ्नो भाषा बिर्सँदै गएको, भेषभूषा लगाउन छाडिएको र संस्कृतिहरू पनि बिर्सँदै गएकाले समाजबाट आफ्नो अस्तित्व जोगाउने चुनौती रहेको उनीहरूले बताएका हुन्।
पाल्पाको माथागढी गाउँपालिका–३, कसेनीको राईमा आयोजित नेपाल मगर संघ जिल्ला समन्वय समिति पाल्पाको १५ औँ जिल्ला अधिवेशनमा सहभागी मगर समुदायका अगुवाहरूले यस्तो बताएका हुन्।
‘हामीले आफ्नै भाषा, भेषभूषा र संस्कृति जगेर्ना गर्न सकेका छैनौँ भनेर भन्न लाज मान्नुपर्ने अवस्था छैन,’ नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दलबहादुर बिरकट्टाले भने, ‘त्यसैले मगर समुदायले आफ्नो संस्कृति जोगाउन आफैँ लाग्नुपर्छ, अरू कसैले जोगाइदिएर जोगिँदैन।’
पछिल्लो समय आधुनिकताको नाममा भाषा, भेषभूषा र संस्कृतिलाई बिर्सँदै गइरहेको भन्दै युवापुस्तालाई यस्ता विषयमा सचेत गराउनुपर्ने र त्यो परिवारबाटै सिकाउँदै अघि बढ्नुपर्ने केन्द्रीय सहअध्यक्ष बिरकट्टाले बताए। उनले मगरहरूको पहिचान भाषा, भेषभूषा, संस्कार र संस्कृति भएको बताए।
मगर समुदायको परिचय भाषा, भेषभूषा, चालचलन र पुर्खाहरूले मान्दै आएको संस्कार तथा संस्कृतिमार्फत चिनिने नेपाल मगर संघका केन्द्रीय सदस्य प्रतिक्षा गाहा सिंजालीले बताइन्। ‘यी आधारहरू हामीलाई अरू जातिहरूबाट अलग बनाउने अमूल्य सम्पत्ति हुन्,’ उनले भनिन्, ‘भाषा भनेको हाम्रो आत्मा हो, जसले हाम्रो भावना र विचार व्यक्त गर्छ।’
मगर समुदायको भेषभूषाले गौरवशाली इतिहासको झल्को दिने नेपाल मगर संघका प्रदेश अध्यक्ष डिबी थापाले बताए। उनले सांस्कृतिक रूपमा चिनाउने काम भेषभूषाले गर्ने बताए।
संस्कार र संस्कृति पुर्खाले दिएका जीवन मूल्य र परम्परा भएको संविधानसभा सदस्य लीला सोमै मगरले बताइन्। ‘संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्दै लैजानुपर्छ,’ उनले भनिन्।
आधुनिक युगमा भाषा, भेषभूषा र संस्कृतिहरू पहिचान भए पनि बिस्तारै हराउँदै गइरहेको अर्की संविधानसभा सदस्य तुलसा रानाले बताइन्। ‘संरक्षण गर्नु मगर समुदाय सबैको कर्तव्य मात्र होइन, दायित्व पनि हो,’ उनले भनिन्।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका सल्लाहकार तथा माथागढी गाउँपालिका
अध्यक्ष यमबहादुर चिदीले आफ्नो भाषा बोल्न सिक्ने, भेषभूषा लगाउने तथा संस्कार र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताए।
आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष गमबहादुर थापाले ३०–३५ वर्ष अघिसम्म पाल्पाकै मध्य र पूर्वी भागका मगरहरू मगर भाषा बाहेक अन्य (नेपाली) भाषा प्रष्ट बोल्न नसक्ने अवस्था रहेको बताए। बाहिरबाट मगर भाषा नबोल्ने पाहुना आउँदा स्थानीयहरू नेपाली भाषा नबुझ्दा पानीसमेत पिउन नपाउने अवस्था रहेको उनले बताए। ‘त्यही गाउँका अन्य जातिसमेत मगर भाषा प्रस्ट बोल्न सक्थे,’ उनले भने, ‘त्यसैले मगरहरूसँग मगर भाषामै कुरा गर्थे।’
नेपाल मगर संघका प्रदेश सचिव तेजबहादुर घर्तीले पाल्पा मगरहरूको बाहुल्यता भएको जिल्ला भए पनि भेषभूषा, भाषा र संस्कृतिलाई पुस्तान्तरण गर्न मगर संघको दायित्व रहेको बताए।
२०७८ सालको जनगणनाको तथ्याङ्कअनुसार पाल्पाको कुल जनसंख्या २ लाख ४२ हजार ४ सय २३ रहेको छ। जसमा मगरहरूको संख्या पाल्पाको कुल जनसंख्याको ५२.६ प्रतिशत अर्थात् १ लाख २७ हजार ४ सय ५० रहेको नेपाल मगर संघका निवर्तमान अध्यक्ष शान्ति झेंडी थापाले बताइन्। पाल्पाली मगरहरूको कुल संख्यामध्ये जम्मा ३४.३ प्रतिशत अर्थात् ४३ हजार ७ सय १५ जनाले मात्रै मगर भाषा बोल्ने गरेका छन्। ८३ हजार ७ सय ३५ जना पाल्पाली मगरहरूले आफ्नो मगर भाषा बोल्दैनन्।
अधिवेशनका अवसरमा सांस्कृतिक पहिरनसहित झाँकी र्याली निकालिएको थियो। विभिन्न नारा लगाउँदै झण्डासहित सराई मगर संग्रहालय फुलबारीबाट सुरु भएको र्याली खहरे हुँदै सराई बजार परिक्रमा गरेको थियो।
पाल्पाका १० वटै स्थानीय तह, जिल्ला कार्यसमिति, भ्रातृ संगठनका प्रतिनिधि र पर्यवेक्षकसहित स्थानीय बासिन्दाको अधिवेशनमा सहभागिता रहेको थियो। अधिवेशनमा मगर विद्यार्थी, मगर सांस्कृतिक, मगर महिला, मगर युवा तथा मगर भूतपूर्व सैनिक/प्रहरी संगठन सहभागी थिए।
मगर संघको केन्द्रीय प्रथम महाधिवेशन २०३९ साल फागुन १५ गते भएको हो। मगर समुदायलाई एक ठाउँमा केन्द्रित गर्ने विशाल छाता संगठनका रूपमा नेपाल मगर संघ रहेको संघका केन्द्रीय सदस्य धनबहादुर रानाले बताए।
संघको १५ औँ पाल्पा जिल्ला अधिवेशनले शेरबहादुर सोमैलाई अध्यक्षमा चयन गरेको छ। उपाध्यक्षमा फुलमाया गाहा, मानबहादुर राना र चेतबहादुर राना, सचिवमा श्याममाया राना, सहसचिवमा सुवास पल्ली मगर, तारादेवी उचै मगर र शंकरबहादुर ढेंगा मगर तथा कोषाध्यक्षमा अनु राना मगर निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरूमा सोमबहादुर घर्ती मगर, लक्ष्मी गाहा, थमनसिं थापा, कमल गाहा, थर्कबहादुर पुन, यमबहादुर राना, पुष्पादेवी थापा, गंगामाया थापा, पूर्णकुमारी ठाडा र मीनादेवी कुवँर मगर चयन भएका छन्।
