जिल्लाको दक्षिण क्षेत्रलाई दाङ र नेपालगञ्जसम्म पहुँच पुर्याउने गरी २०५६ सालदेखि निर्माण हुँदै आएको गच्छे–भालुवाङ सडक बजेट अभावले सुस्त गतिमा काम हुने गरेको छ।
What you should know
अर्घाखाँची — गच्छे–भालुवाङ सडकमा चालु आर्थिक वर्ष साढे पाँच करोड रुपैयाँ लगानीमा १३ किमी सडक कालोपत्र हुँदैछ ।
लुम्बिनी प्रदेश सरकारको अढाई करोड र समपुरक अन्तरगत केन्द्र सरकारको पाँच करोड रुपैयाँ लगानीमा गच्छेदेखि ढिकुरासम्म कालोपत्र गर्ने काम भैरहेको हो। जिल्लाको दक्षिण क्षेत्रलाई दाङ र नेपालगञ्जसम्म पहुँच पुर्याउने गरी २०५६ सालदेखि निर्माण हुँदै आएको गच्छे–भालुवाङ सडक बजेट अभावले सुस्त गतिमा काम हुने गरेको छ।
लुम्बिनी प्रदेश राजधानी दाङको देउखुरीमा स्थापना भएपछि प्राथमिकताका साथ अघि बढ्ने अपेक्षा स्थानीयले गरेका थिए। अहिले पनि बजेट थाेरै हुँदा कामले गति पाउन सकेकाे छैन। यही रफ्तारमा बजेट पर्दा निर्माण कार्य सकिन अझै पाँच वर्ष लाग्ने स्थानीयको अनुमान छ ।
यो सडकमा यातायात नियमति चल्न थाले शीतगंगा नगरपालिकाको जलुके, जुकेना, लामाताल, सिद्धारा, धनचौरलगायत विकट बस्तीलाई सहज हुनेछ। यो सडक पूरा भए यहाँ उत्पादित बस्तु तराइका बजारसम्म पुर्याउन सहज हुने शीतगंगा नगरपालिका–९ का वडाध्यक्ष भीम केसीले बताए। ‘अर्घाखाँचीको दक्षिणी क्षेत्र शितगंगा सदरमुकामका हिसाबले दुर्गम रहे पनि दाङ र कपिलवस्तुसँग सहज पहुँच हुन्छ,’ उनले भने, ‘सडकको सुविधा भए गाउँ र सहर जोडिन्छ । यस क्षेत्र धेरै जंगल, उत्पादनका हिसाबले उर्बरभूमी, पशुपालनको लागि राम्रो सम्भावना छ ।’
दैनिक गाडीमा उत्पादित वस्तु तरकारी, खसीबोका, कुखुरा, बंगुर, अण्डा, दूधसहित बस्तु सहर पुर्याउने सुविधा भईदिए गाउँमा युवाहरु स्वरोजगार उन्मुख हुने उनको दाबी छ । तर हरेक वर्ष बजेट थोरै पर्दा कहिले निर्माण सम्पन्न हुन्छ भन्नेमा अन्योल रहेको उनले बताए ।
अहिले राजधानी आउजाउ गर्दा अर्घाखाँचीबाट सन्धिखर्क–गोरुसिंगे सडक हुँदै पूर्वपश्चिम राजमार्ग कपिलवस्तुको बाटो हिँडनुपर्छ । सन्धिखर्क–गोरुसिंगे–भालुवाङ १ सय २४ किमी दुरी छ । सन्धिखर्कबाट नजिकै दुई किमीको गच्छे–भालुवाङ ६४ किमी दुरी रहेको छ ।
यो सडक सञ्चालन भए गुल्मी र पाल्पाका स्थानीय पनि यही बाटो आउजाउ गर्दा गाउँका मुख्य चोकमा व्यापार बढ्ने अपेक्षा रहेको वडाध्यक्ष केसीले बताए । शीतगंगा नगरपालिकाको लामातालबाट राप्ती किनारा हुँदै बढीदमार–प्यूठानको चैते–रामपुर हुँदै मुख्य रोडबाट दाङको भालुवाङ जोडिन्छ ।
सडक पूर्वाधार विकास कार्यालय प्रमुख गोपी पुन मगरले गच्छेबाट कालोपत्रे गर्न यो वर्ष काम सुरु भइरहेको बताए । यो बजेटले ढिकुरा १३ किमी भन्दा बढी सडकको काम गर्न पुग्ने उनले बताए । नाली पर्खालसहित साढे ५ मिटर चौडाइ बनाएर सडक कालोपत्र हुनेछ । गत आर्थिक वर्षमा प्रदेश सरकारको १६ करोड रुपैयाँ बजेट थियो । यही तरिकाले बजेट उपलब्ध भए निर्माण पूरा हुन ५ वर्ष लाग्ने वडाध्यक्ष केसी बताउँछन्।
धनचौरलगायतका ठाउँमा सडक छिचोल्न अप्ठयारो पहरा फोर्नु परेकाले पनि निर्माणमा वर्षौं समय लागेको हो । प्रदेशसभा ख का सांसद रामजीप्रसाद घिमिरेले भौगोलिक जटिलताकै कारण सडकको ट्रयाक खोल्ने र फराकिलो बनाउन समय लागेको बताए । ‘अब सडकलाई बजेट प्रयाप्त पारेर छिटो कालोपत्रे गरेर सक्नुपर्छ,’ उनले भने, ‘बजेट अभाव नै छ । प्रदेशबाट ठूला योजना सम्पन्न गर्ने भन्दा पनि टुक्रे योजनामा धेरै बजेट भए । पछिल्ला प्रदेश सरकारले गच्छे–भालुवाङको सडकलाई बजेटमा प्राथमिकता दिएनन् ।’
पाल्पा, गुल्मी र अर्घाखाँचीलाई प्रदेश राजधानी आउजाउ गर्न सहजसँगै अर्घाखाँचीको दक्षिण क्षेत्र शीतगंगा गाउँको अवस्था बदल्ने सडक भएको घिमिरेले बताए ।
अर्घाखाँचीको शीतगंगा नगरपालिका–८ र ९ वडा, दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा र गढवा गाउँपालिका–१, २ र ३ लाई समेटेर लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्याका बनेपछि गच्छे–भालुवाङ सडक र यस क्षेत्रको महत्व बढेको छ ।
