पाँच वर्षपछि बल्ल पाए गोडियाले नागरिकता

गोडिया राष्ट्रिय खेलाडी पनि हुन् । नागरिकता नहुँदा उनको खेलकुद करिअर अगाडि बढाउन समस्या भइरहेको थियो भने पढाइसमेत प्रभावित भएको थियो ।

पुस २४, २०८२

रुपा गहतराज

Godiya finally gets citizenship after five years

What you should know

नेपालगन्ज — पाँच वर्षदेखि नेपाली नागरिकता प्राप्तिका लागि संघर्ष गर्दै आएका बाँकेको कोहलपुर नगरपालिका–११ का  २४ वर्षीय मोहन गोडियाले नागरिकता पाएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको हातबाट उनले नागरिकता पाएका हुन् ।

नागरिकता प्राप्तिका लागि उनले अड्डा–अदालतदेखि गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म धाएका थिए । विभिन्न निकायबाट आश्वासन मात्रै पाए पनि लामो समयसम्म नागरिकता पाउन सकेका थिएनन्  ।

गोडिया राष्ट्रिय खेलाडी पनि हुन् । नागरिकता नहुँदा उनको खेलकुद करिअर अगाडि बढाउन समस्या भइरहेको थियो भने पढाइसमेत प्रभावित भएको थियो ।

पाँच वर्षको अथक प्रयासपछि आफूले नागरिकता पाएको उनले बताए । ‘बल्ल ठूलो राहत महसुस गरेको छु,’ उनले भने, ‘म यो खुसीलाई शब्दमा बयान गर्नै सक्दिनँ ।’ गोडियाका पिता लामो समयदेखि सम्पर्कविहीन रहेकाले उनलाई नागरिकता लिन समस्या भएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन नियमावली चौथोपटक संशोधन भई राजपत्रमा प्रकाशित भएसँगै गोडियालाई नागरिकता प्राप्त गर्ने बाटो खुलेकाले नागरिकता प्रदान गरिएको बताए । उनले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । 

नेपाली वंशकी महिलाबाट जन्मिएका सन्तान तथा बाबुको पहिचान खुल्न नसकेका कारण नागरिकता नपाएका नागरिकको समस्या पनि नयाँ संशोधनले सम्बोधन गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

यसअघि जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानले बाबु र आमा दुवैको नागरिकता भएमा मात्र नागरिकता पाउने कानुनी व्यवस्था थियो । पछिल्लो संशोधनले भने जन्मसिद्ध नागरिकता भएका व्यक्तिका सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था गरेको छ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully